चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा नेपालले दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिटेन्स प्राप्त गरेको छ। यो रकमगत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा कुल १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार उक्त रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा १६.५ प्रतिशत बढी हो। यसले नेपालमा प्रतिमहिना औसत एक खर्ब रूपैयाँभन्दा बढीका दरले रेमिटेन्स भित्रिने गरेको देखाउँछ। यो प्रवृत्ति बढ्दो क्रममा छ। सरकारबाट श्रम स्वीकृति लिएर कामदारका रूपमा विदेश जानेको संख्या र देश भित्रिएको रेमिटेन्सको तालमेल भने मिल्दैन। विद्यार्थी भिसामा विदेश जाने र गैरकानुनी रूपमा जानेको संख्या पनि निकै ठूलो छ। यस अवस्थामा देशले प्राप्त गरेको रेमिटेन्स श्रम स्वीकृति लिएर गएका श्रमिकको मात्र योगदान हो भन्न सकिँदैन। यो लेख भने नेपाली कानुन अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने विषयमा केन्द्रित छ। नेपालको हकमा देशले प्राप्त गर्ने रेमिटेन्स र यहाँको वैदेशिक व्यापार (आयात-निर्यात) का बीचमा केही सम्बन्ध देखिन्छ। आर्थिक वर्...