Skip to main content

जनताको कम्पनी बनोस नेपाल विद्युत प्राधिकरण

 विद्युत व्यापार तथा वितरणमा एकल दायित्व बहन गरिरहेको प्राधिकरणलाई राजनीतिक शक्ति सन्तुलन, संस्थागत सुव्यवस्थापन र दक्ष बजार (माग तथा आपूर्ति) व्यवस्थापन मार्फत वित्तीय सबलता कायम गर्ने काम निकै चुनौतीपूर्ण छ।

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारण नागरिकलाई सेयर बेचेर ६० अर्ब रूपैयाँ बराबरको पुँजी संकलन गर्न सार्वजनिक निष्कासनको तयारी गरेको छ।

हालसम्म पूर्ण सरकारी स्वामित्वमा रही विद्युत खरिद-बिक्रीमा एकाधिकार प्राप्त संस्थानले आफ्नो जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री गर्न प्रक्रिया अघि बढाएको छ।

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्राधिकरणको चुक्ता पुँजी एक खर्ब ७५ अर्ब रूपैयाँ छ। सञ्चित नाफा तथा अन्य मौज्दात गरी करिब ३० अर्ब रूपैयाँ सञ्चित कोषमा छ।

आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको प्राधिकरणले चुक्ता पुँजी ३ खर्ब रूपैयाँ पुर्‍याएर त्यसको १० प्रतिशत सेयर सर्वसाधारणलाई प्रिमियममा बिक्री गर्न प्रस्ताव पेस गरेको छ।

संस्थानको वित्तीय अवस्थाको आधारमा प्रतिसेयर अंकित मूल्यमा प्रतिसेयर खुद सम्पत्तिको अनुपातमा १३० देखि १५० प्रिमियम थपेर सेयर बिक्री गर्न पाउने व्यवस्था छ।

उक्त व्यवस्थाअनुरूप ३ खर्बको १० प्रतिशत सेयर बिक्री गर्दा प्राधिकरणले करिब ६० अर्ब रूपैयाँ थप पुँजी जुटाउन सक्नेछ। केही वर्षअघि करिब ३० अर्ब सञ्चित नोक्सानी अपलेखन गरिएको विद्युत प्राधिकरण अहिले सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ।

Laxmi bank

बैंक र वित्तीय संस्थाबाहेक सरकारी स्वामित्वका अधिकांश संस्थान घाटामा चलेका बेला विद्युत प्राधिकरणले पछिल्ला वर्षहरूमा निरन्तर नाफा हासिल गरेको छ।

नेपालमा प्रचुर सम्भावना भएको जलविद्युत क्षेत्रको अग्रणी प्राधिकरणले अनुचित राजनीतिक हस्तक्षेप र गैरव्यावसायिक व्यवस्थापकीय नेतृत्वका कारण विगतमा लामो समय जर्जर वित्तीय अवस्था सामना गर्नुपरेको थियो।

Ncell

पछिल्लो समय राजनीतिक नेतृत्वको सकारात्मक सहयोग र संस्थाको व्यावसायिक नेतृत्वका कारण अर्बौं रूपैयाँ घाटामा रहेको संस्था लगातार नाफा आर्जन गर्न सफल भएको छ।

प्राकृतिक स्रोतको अत्यधिक दोहन र खनिज ऊर्जाको बढ्दो प्रयोगबाट सिर्जित जलवायु परिवर्तन तथा त्यससँग सम्बन्धित विपद जोखिमका कारण स्वच्छ र नवीकरणीय ऊर्जा जलविद्युतको माग आन्तरिक तथा बाह्य बजारमा उच्च छ।

यस्तो अवस्थामा विद्युत व्यापार तथा वितरणमा एकल दायित्व बहन गरिरहेको प्राधिकरणलाई राजनीतिक शक्ति सन्तुलन, संस्थागत सुव्यवस्थापन र दक्ष बजार (माग तथा आपूर्ति) व्यवस्थापन मार्फत वित्तीय सबलता कायम गर्ने काम निकै चुनौतीपूर्ण छ।

नाफामूलक संस्थाको व्यावसायिक सफलता संस्थागत सुव्यवस्था र वित्तीय सबलतामा निर्भर हुन्छ। यसो सुन्दा संस्थागत सुव्यवस्था आन्तरिक र सामान्य जस्तो लागे पनि उच्च मनोबलयुक्त दक्ष जनशक्ति, नयाँ प्रणाली र प्रविधि आवश्यक पर्छ। जनशक्तिको क्षमता विकासमा ठूलो लगानी चाहिन्छ।

वित्तीय सबलता लगानी वा पुँजी परिचालन गर्न सक्ने क्षमतामा भर पर्छ। पुँजी परिचालन गर्न सक्ने क्षमता संस्थाको व्यावसायिक भविष्य, नाफा आर्जन गर्न सक्ने क्षमता वा सम्भावनामा निर्भर हुन्छ।

अहिलेको अवस्थामा प्राधिकरणको व्यावसायिक भविष्य उज्ज्वल छ, नाफा आर्जन गर्न सक्ने सम्भावना उच्च छ।

पछिल्लो जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ६६ लाख ६७ हजार घरधुरी रहेकोमा तिनको ९३ प्रतिशतले उज्यालोका लागि बिजुली प्रयोग गरेका छन्।

घरमा स्मार्टफोन, टेलिभिजन र ल्यापटप जस्ता नियमित बिजुली खपत गर्ने विद्युतीय उपकरण हुने घरधुरीको अनुपात करिब दुई तिहाई रहेको देखिन्छ। पंखा, हिटर, फ्रिज र एयर कन्डिसनर जस्ता बढी विद्युत खपत गर्ने उपकरणको प्रयोग गर्ने घरधुरी पनि दिनप्रतिदिन बढ्दै छन्।

खाना पकाउन बिजुली प्रयोग गर्ने घरधुरीको अनुपात करिब एक प्रतिशत मात्रै रहेको देखिए पनि निरन्तर बढ्दै जाने पक्का छ। तीन वटै तहका सरकारले बिजुली प्रयोगमा प्रोत्साहन गरेका छन्।

राष्ट्रिय आर्थिक गणना, २०७५ को तथ्यांकले नेपालमा करिब १० लाख उद्योग व्यवसाय रहेको देखाएको छ। त्यसमा कुटीर, घरेलु तथा साना उद्योगदेखि मेगावाटको हिसाबमा विद्युत खपत गर्ने ठूला उद्योगसम्म पर्छन्। यी अधिकांशको ऊर्जा स्रोत विद्युत नै हो।

नेपालले जलवायु परिवर्तनको प्रतिकूल असर भोग्नु परेको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता गरेको छ। सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको अवस्था हासिल गर्ने राष्ट्रिय लक्ष्य छ। यस पृष्ठभूमिमा सरकारले उद्योगहरूमा खनिज इन्धनको प्रयोग न्यूनीकरणको रणनीति अवलम्बन गरेको छ।

खनिज इन्धनबाट उत्पादित बिजुलीको तुलनामा जलविद्युतको लागत कम हुने भएकाले उद्योगहरू आफैं पनि बिजुलीको उपयोग बढाउन चाहन्छन्।

सबैभन्दा धेरै खनिज इन्धन खपत गर्ने यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको सर्वसुलभतासँगै बढ्दो प्रयोगले जलविद्युतको माग बढ्दै गएको छ। खासगरी हाइड्रोजन ग्यासबाट चल्ने सवारी साधनको सफल प्रयोगले त झन् वर्षायाममा खेर जाने बिजुली खपतको सम्भावना समेत बढाएको छ। 

विशाल बजार रहेको छिमेकी मुलुक भारतमा भइरहेको विद्युत निर्यात र दीर्घकालीन विद्युत व्यापार सम्झौता प्राधिकरणको व्यवसाय विस्तारको अर्को असीमित सम्भावना हो। अझ एक पाइला अगाडि हेर्ने हो भने बंगलादेशको र चीनको बजार पनि प्राधिकरणका लागि बिस्तारै खुल्दैछन्।

यसरी हेर्दा प्राधिकरणको व्यापारिक भविष्य अत्यन्तै उज्ज्वल देखिन्छ। त्यसलाई वास्तविकतामा बदल्न भने इमानदार र व्यावसायिक नेतृत्व चाहिन्छ। आगामी केही वर्षसम्म ठूलो मात्रामा लगानी आवश्यक पर्छ।

पूर्ण सरकारी स्वामित्वको संस्थान भएकाले प्राधिकरण सरकारी लगानी र अनुदानमा बढी निर्भर थियो। कतिपय अवस्थामा सरकारले विश्व बैंक र एसियाली विकास बैंकबाट ऋण लिएर प्राधिकरणमा लगानी गर्ने गरेको छ।

नाफामूलक व्यावसायिक संस्था सरकारी लगानी र दाताको सहयोगमा बढी निर्भर हुँदा अनुचित राजनीतिक हस्तक्षेप र दाताका नाजायज सर्तहरू समेत सामना गर्नुपरेको तितो अनुभव प्राधिकरणसँग छ।

जुन उद्यम-व्यवसायले पनि वित्तीय रूपमा सबल, संस्थागत रूपमा स्वायत्त र व्यावसायिक रूपमा सफल हुन ऋण वा अनुदानको सट्टा स्वपुँजीमा जोड दिनुपर्छ। विद्युत उत्पादनदेखि खरिदबिक्री र वितरणसम्मको जिम्मेवारीप्राप्त प्राधिकरणको आवश्यकता आधुनिक, समयसापेक्ष र दक्ष विद्युत सेवाका लागि दिगो पूर्वाधार विकास नै हो। यस निमित्त लगानी आवश्यक पर्छ।

विद्युत प्राधिकरणसँग आगामी केही वर्ष नियमित रूपमा ठूलो लगानी आवश्यक पर्ने परियोजनाहरू छन्। वार्षिक अर्बौं रूपैयाँ थप लगानी आवश्यक पर्नेछ। नयाँ परियोजनामा सेयर पुँजी लगानीको प्रतिबद्धता, विद्युत खरिद सम्झौताबापतको भुक्तानी, ऋणको साँवा-ब्याज भुक्तानी र मर्मत तथा सञ्चालन खर्चको व्यवस्थापनमा लगानी आवश्यक हुनेछ।

अहिलेको अवस्थामा विद्युत प्रसारण पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ। त्यस्ता पूर्वाधारमा गरिएको लगानीको प्रतिफल आउन लामो समय लाग्छ। ऋण लिएर लगानी गर्दा तत्कालै सावाँ-ब्याज भुक्तानीमा समस्या हुन सक्छ।

यही परिस्थिति विश्लेषण गरेर प्राधिकरण नेतृत्वले संस्थाको पूँजी वृद्धिका लागि सर्वसाधारणलाई सेयर बिक्रीको रणनीति लिएको हुन सक्छ। यसो गर्नु समय सान्दर्भिक र स्वागतयोग्य छ। 

यो रणनीतिको ध्येय (मिसन) प्राधिकरणलाई जनताको कम्पनी बनाउने दिशामा लक्षित हुनुपर्छ। संसारमा हरेक कम्पनीको व्यवसाय बजारमागमा अडेको हुन्छ, त्यो माग उपभोक्ता वा ग्राहकबाट आउँछ।

प्राधिकरणको हकमा ग्राहक भन्नु हरेक व्यक्ति हो, समग्रमा जनता हो। जनताले यसको मालिक हुँ भन्न पाउने गरी सेयर बिक्री गर्ने सूत्र विकास गरेर सबै ग्राहकले समानुपातिक रूपमा सेयर प्राप्त गरेपछि मात्रै अन्यलाई बिक्री गर्ने व्यवस्था गर्नुपर्छ।

सकेसम्म आधारभूत ग्राहकलाई प्रिमियम समेत नजोडी अंकित मूल्य प्रतिकित्ता एक सयमा नै सेयर दिने व्यवस्था गर्नु उचित हुनेछ। व्यापारिक जगतमा ग्राहक भगवानसरह मानिन्छ र प्रिमियमबिना सेयर दिँदा ग्राहकको सम्मान गरेको अर्थ लाग्छ। यसबाट प्राधिकरणप्रति जनताको स्वामित्व, अपनत्व र सदभाव विकास हुन्छ। प्राधिकरण र समुदायबीचको अविश्वास र द्वन्द्व न्यूनीकरणमा पनि सहयोग पुग्नेछ।

कहिलेकाहीँ प्राधिकरणका परियोजनाहरूमा स्थानीय समुदायबाट हुने विरोध र अवरोध कम गर्न वा कालान्तरमा त्यस्तो अवस्था सिर्जना नै नहुने वातावरण बनाउन पनि सेयरको उक्त व्यवस्थाले प्राधिकरणलाई फाइदा हुनेछ।

यसर्थ, प्राधिकरणले आधारभूत ग्राहकहरूलाई कोही नछुट्ने र कोही नदोहोरिने गरी अंकित मूल्यमा नै सेयर बिक्री गर्ने व्यवस्था मिलाउनु बुद्धिमानी हुनेछ।

अहिले विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार छ। आमग्राहक र उद्योगी-व्यवसायी बिजुली किन्न उसैकोमा नगई सुख छैन। यस्तो अवस्था सधैं नरहन पनि सक्छ।

केही वर्षदेखि निजी क्षेत्रलाई विद्युत उत्पादन जस्तै विद्युत व्यापार पनि खुला गर्नुपर्छ भन्ने विषयमा बहस भइरहेको छ। यसका लागि निजी क्षेत्रले पैरवी गरिरहेको छ। कतिपय नीति निर्माता र राजनीतिक नेतृत्व पनि यसमा सकारात्मक हुँदै गएको देखिएको छ।

यस्तो परिस्थितिमा प्राधिकरण जनताको कम्पनीका रूपमा स्थापित हुनुपर्छ। यसका निम्ति एक कदम अघि बढेर सेयरको निश्चित हिस्सा आधारभूत ग्राहकलाई अंकित मूल्यमै बिक्री गर्नु उत्तम हुनेछ।

बाँकी रहेको सेयर अन्य लगानीकर्तालाई प्रिमियम मूल्यमा बेच्दा पनि प्राधिकरणलाई पूँजी संकलनमा समस्या पर्ने देखिँदैन। सम्भवतः नेपालकै ठूलो र नाफामा रहेको कम्पनीको साधारण सेयर पुँजीबजारमा प्रवेश गर्नु पुँजीबजारको स्थायित्वका लागि पनि निकै राम्रो पक्ष हो।

खासै राम्रो वित्तीय स्वास्थ्य नभएका कम्पनीहरूको साटो राम्रो कम्पनी आउनुले दोस्रो बजारका लगानीकर्तामा पनि सकारात्मक सन्देश जानेछ। यसर्थ, पुँजीबजारमा प्राधिकरणको प्रवेशलाई सेयर लगानीकर्ताहरूले चासोका साथ लिने विश्वास छ।

https://www.setopati.com/opinion/326503

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...