Skip to main content

ब्याजदरले यसरी प्रभावित गर्छ शेयर बजारलाई

पछिल्लो समय सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा हुने गरेका विषय हुन् बैंकिङ प्रणालीमा ब्याप्त लगानीयोग्य पूँजी अभाव, ब्याजदर र शेयर बजार। ब्याजदर यो शुल्क वा अतिरिक्त रकम हो जुनकुनै एक व्यक्ती वा संस्थाले असल (उत्पादनशील) प्रयोजनमा अर्कै व्यक्ती वा संस्थाको पूँजी (पैसा) उपयोग गरे वापत तिर्न मञ्जुर गर्छ। 
यो परिभाषाले स्पष्ट संकेत गरेको छ की ब्याजदर कुनै एकको बचत अर्कैले उपयोग गरे वापत तिरिने रकम हो, जसलाई मुलधन (बचत) को प्रतिशतका आधारमा गणना गरिन्छ। तसर्थ, ब्याजदर वित्तीय बजारमा लगानीका लागि उपलब्ध बचतमा निर्भर रहन्छ। त्यसरी निश्चित शुल्क लिएर अर्कैलाई उपयोग गर्न दिनका लागि बजारमा उपलब्ध बचतलाई अर्थशास्त्रीय भाषामा लगानीयोग्य पूँजी भनिन्छ। यस लेखमा त्यही लगानीयोग्य पूँजी, ब्याज दर र शेयर बजारको आधारभुत सम्बन्धका विषयमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ।

त्यसरी अनुमानित प्रतिफल र लागतको विश्लेषण गरेर छिटो छिटो वित्तीय सम्पत्तीको खरिद विक्री गर्न ब्याजदर र पूँजीबजार बिचको आधारभुत सम्बन्धको जानकारीले महत्वपूर्ण भुमिका खेल्छ। र, यस बजारमा संलग्न ब्यक्ती वा लगानीकर्ता औपचारिक योग्यताका हिसावले कम शिक्षित नै भए पनि ब्याजदर र शेयर बजारको सम्बन्ध पहिल्याउन र त्यही अनुरुप निर्णय लिन सिपालु हुन्छन। यो क्षमता नेपाली शेयर बजारका लगानीकर्ता वा वित्तीय बजारका ग्राहकमा पनि अवश्य छ। त्यसैले त ब्याजदर र शेयर बजारका स्थापित सिद्धान्तहरु यहाँ पनि लागु हुन्छन् र भएका छन्।

आधुनिक मौद्रिक अर्थतन्त्रमा ब्याजदरलाई पूँजीको प्रति एकाई मूल्यका रुपमा स्वीकार गरिएको छ, जसले समग्र अर्थतन्त्रलाई चक्रीय रुपमा तरंगित गर्न सक्ने क्षमता राख्छ। ब्याजदरको त्यस्तो चक्रीय तरंगबाट दीर्घकालिन पूँजीको लेनदेन हुने शेयर बजार त अछुतो रहने कुरै हुँदैन। अर्थतन्त्रका वास्तविक क्षेत्रका परिसूचकहरु उत्पादन, रोजगारी, राष्ट्रिय आय आदिमा ब्याजदर परिवर्तनको असर पर्न केही समय लाग्न सक्छ। तर, वित्तीय क्षेत्र खासगरी शेयर बजारमा यसको प्रभाव तुरुन्तै पर्न जान्छ। किनकी वित्तीय बजार नै यस्तो क्षेत्र हो जहाँ बचतकर्ता वा लगानीकर्ताले सम्भावित प्रतिफल र लगानी (पूँजी) को लागतको तुलनात्मक विश्लेषण गरेर अति छोटो अवधीमा (तुरुन्तै) विभिन्न वर्गका सम्पत्तीहरुको खरिद विक्रि गर्न सक्छन्। वित्तीय बजारको यस गुणलाई तरलता भनिन्छ। 

विकसित देशहरुमा ब्याजदर भन्ने वित्तीकै केन्द्रीय बैंकको नीतिगत दर, खासगरी रिपो दर भन्ने बुझिन्छ। त्यहाँ बैंकहरुको लगानीयोग्य पूँजीको प्रमुख स्रोत केन्द्रीय बैंकको सञ्चित मुद्रा (मनिटरी बेस) लाई मानिन्छ र त्यही सञ्चित मुद्राका आधारमा बैंकहरुले ऋण श्रृजना गर्छन। त्यसले पनि नपुगेको अवस्थामा बैंकहरुले केन्द्रीय बैंकबाट सापट लिन्छन र त्यसरी लिने सापटीमा नीतिगत वा रिपो दर लागु हुन्छ। तसर्थ रिपो दरमा वृद्धि हुँदा बैंकहरुको कोषको लागत बढ्न गई उनीहरुले प्रदान गर्ने कर्जाको ब्याजदर पनि बढ्ने गर्छ। यसरी, ब्याजदर बढ्दा शेयर बजारमा प्रतिकुल प्रभाव पर्ने गर्छ। 
विकसित देशहरुमा वित्तीय क्षेत्रको सबैभन्दा शक्तिशाली अंग हो, ऋणपत्र (डेब्ट) बजार, जहाँबाट ठूला उद्योग तथा लगानी कम्पनीहरुले ऋणपत्र (बण्ड) जारी गरेर दीर्घकालिन स्रोत जुटाउने गर्छन। बैंक कर्जाको ब्याजदर बढेपछि वण्डको मूल्य घट्ने गर्छ र वण्डको भुक्तानी अवधीका आधारमा त्यसको प्रतिफलमा पनि उतारचढाव आउने गर्छ। यसरी कर्जाको ब्याजदर बढ्दा बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्नेहरुको लागत बढ्न गई शेयर खरिद विक्री कम हुनजान्छ। बरु कतिपयले वण्डको मूल्य घटेकाले शेयर बेचेर वण्ड खरिद गर्न थाल्छन र शेयर बजार घट्न थाल्छ। 
यसको विपरित रिपो दर कम हुँदा बैंकको कोषको लागत कम भएर जान्छ र कर्जाको ब्याजदर पनि घट्न थाल्छ। यस्तो समयमा कम ब्याजदरमा ऋण लिएर लगानी गर्दा समेत नाफा हुने सम्भावना बढी हुने भएकाले ऋणको मागका साथै वण्डको र शेयरको मूल्यमा पनि सुधार हुन्छ। यसरी सामान्यतया ब्याजदर र शेयर बजारको विचमा विपरित सम्बन्ध रहने गर्छ। यद्यपी कतिपय समयमा अर्थतन्त्रमा अन्य कारण र नीति निर्माताको व्यवहार, बोली र राजनीतिक स्थायित्व जस्ता अर्थतन्त्रलाई सोझै प्रभाव पार्न सक्ने विषयमा भएको सुधारका कारण लगानीकर्ताको मनोबल वा भविष्यप्रतिको अपेक्षा बढ्न गएको अवस्थामा ब्याजदर केही बढी नै भएपनि शेयर बजारमा सुधार हुन सक्छ। तर, लगानीकर्तासँग बैंक ऋण बिना नै लगानी गर्न सक्ने प्रशस्त पूँजी नभएसम्म त्यस्तो बृद्धि धेरै टिकाउ भने नहुन सक्छ। नेपालको सन्दर्भमा पनि यही नियम लागु हुन्छ। तर, कर्जाको ब्याजदर परिवर्तनको कारण र त्यसले शेयर बजारमा पार्ने असरको चक्र र प्रकृया अलि फरक छ। 
नेपाली बैंकहरुको लगानीयोग्य कोषको प्रमुख स्रोत बैंकिङ प्रणालीभन्दा बाहिरबाट प्राप्त हुने बचत वा निक्षेप हो। केन्द्रीय बैंकको सञ्चित मुद्राको आधार साँघुरो र बैंकहरुको स्वपूँजी (इक्विटी) कम हुँदा यस्तो भएको हो। त्यसैले नेपालको हकमा निक्षेपको स्रोतमा आउने उतार चढावले बैंकहरुले निक्षेपमा दिने ब्याजदर (कोषको लागत) र कर्जाको ब्याजदर निर्भर गर्दछ। 
अन्य देशमा केन्द्रीय बैंकबाट सापट लिए जस्तै नेपाली बैंकले आफ्नो निक्षेपले ऋणको माग नधानेको अवस्थामा नेपाल राष्ट्र बैंकका साथै अन्य बैंकबाट (अन्तर बैंक) सापटी लिएर समेत कर्जा प्रवाह गर्ने गर्छन। त्यसको असर पनि अल्पकालिन ब्याजदर हुँदै शेयर बजारमा पर्ने गरेको छ। यसको ज्वलन्त उदाहरण हो, बिगत २ वर्षदेखि आकासिएको ब्याजदर र सुस्ताएको शेयर बजार। 
नेपाली वित्तीय प्रणालीको अर्को विशेषता भनेको ऋणपत्र बजारको अभाव हो। पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म जम्मा १५ अर्ब हाराहारीका ऋणपत्र (बण्ड) बजारमा आएका छन्। जबकी बैंकिङ प्रणालीको निक्षेपको आकार देशको कुल गार्हस्थ्य उत्पादनभन्दा ठूलो भईसकेको छ। त्यसैले पनि बैंकहरु अर्थतन्त्रमा समय समयमा आउने ब्यापारचक्र तथा आम मानिसको आम्दानी, उपभोग तथा बचत प्रबृत्तीमा आउने मौसमी उतारचढावका कारण निक्षेपमा हुने सामान्य घटबढबाट नै समस्यामा पर्ने गरेका छन्। त्यसको प्रत्यक्ष प्रभाव निक्षेप र कर्जाको ब्याजदरमा देखिने गर्छ भने अप्रत्यक्ष रुपमा शेयर बजारका लगानीकर्ताले समेत त्यसको मूल्य चुकाउनु परेको छ।  
तसर्थ अन्य विकसित देशमा वाणिज्य बैंक, बचतकर्ता तथा वित्तीय बजारका साथै अन्य औद्योगिक क्षेत्रका सरोकारवालाहरुले केन्द्रीय बैंकको नीतिगत ब्याजदरलाई आफ्नो आर्थिक तथा व्यवसायिक गतिविधि र लगानीको निर्णय गर्छन् भने नेपालमा अन्तर बैंक ब्याजदरलाई हेरेर केन्द्रीय बैंकले आफ्नो मौद्रिक नीतिका औजारहरु निर्धारण गर्छ। यसरी नेपालको सन्दर्भमा ब्याजदरको प्रसारण संयन्त्र (ट्रान्समिसन मेकानिज्म) अन्य विकसित देशहरुको भन्दा फरक छ। तथापी ब्याजदरले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा पार्ने प्रभाव भने उस्तै नै छन्। 
अब नेपाली शेयरको पछिल्लो अवस्था र त्यसमा ब्याजदर परिवर्तनले पारेको प्रभावका विषयमा छोटो चर्चा गरौं। सबैलाई जानकारी भएकै विषय हो नेपालको पूँजीबजार अझै शिशु अवस्थामा नै छ। त्यसमा पनि अर्थतन्त्रको मूख्य क्षेत्र उद्योगहरुको उपस्थिती शुन्यप्राय छ। ऋणपत्र बजार विकास हुननसक्दा समग्र पूँजीबजार त्यसमा पनि बण्डका लागनीकर्तालाई संभावित प्रतिफलको पूर्वानुमान गर्न मार्गदर्शन गर्ने 'यिल्ड कर्भ' को विकास नै हुन सकेको छैन। तसर्थ, अधिकांश लगानीकर्ताहरुले अनुमानको भरमा शेयर बजारमा आफ्नो बचत तथा सापटीको रकम लगानी गर्ने गरेका छन्। हुन त शेयर बजारको कारोबारलाई अनुमान कै व्यवसायका रुपमा बुझ्नेने अर्थशास्त्री र वित्तीय विश्लेषकहरु पनि छन्। 
अझ गहन कुरा त के छ भने शेयरको दोस्रो बजारम सूचिकृत कम्पनीहरुमा पनि बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता छ। अनी लगानीकर्ताका लागि बैकल्पिक उपकरण वा प्रशस्त ऋणपत्रहरु छैनन्। भएका केही सामुहिक लगानी कोषहरु पनि बन्दमुखी छन् र तीनका व्यवस्थापकहरुसँग पनि यिल्ड कर्भ जस्ता आधारभुत र प्राविधिक विश्लेषणका औजारहरुको उपयोग गर्ने दक्षता र बानी पनि छैन। अन्त्यमा रह्यो बैंकहरुको शेयरमा बैंकहरुबाटै लिएको सापटीको लगानी। त्यो पनि अनुमानका भरमा हुने शेयर किनबेच। फलस्वरुप बैंकिङ क्षेत्र र शेयर बजारको उतार चढावको तारतम्य मिलेको देखिन्छ। तर हालै शेयर बजारमा देखिएको उत्साहप्रद बृद्धि भने माथि भनिए जस्तै ब्याजदर बाहेकका तत्वले पारेको प्रभावको प्रमाण हो। त्यसैले यो बृद्धि कती टिकाउ होला भन्नेमा बिश्लेषण आवश्यक छ। 
बैंकिङ प्रणालीमा ब्याजदरमा केही कमीआए सबै जना ऋण लिएर शेयर खरिद गर्न लाइन लाग्ने अनि केही कारणबश ब्याजदर केही उकालो लागे सबै बेच्न हतारिने वा थप लगानी नगरी तथष्ट भइदिने। स्वभाविक पनि हो यदस आफुसँग भएको बचत मुद्दती निक्षेपमा राख्दा शेयर बजारको लगानीबाट आउने प्रतिफलभन्दा बढी आम्दानी हुने र जोखिम पनि लिन नपर्ने भएपछि विवेकशील लगानीकर्ताले स्वतःनिक्षेप रोज्ने भयो। मुद्दती निक्षेप त एक औपचारिक लगानीको माध्यम भयो यहाँ घरजग्गा, ढुकुटी, डेरिभेटिव तथा सुनचाँदी जस्ता अनेकौं अनौपचारिक क्षेत्र पनि छन्।
त्यस्ता क्षेत्रमा केही जोखिम बढी भएपनि शेयर बजारको भन्दा बढी प्रतिफल आउने देखेमा कतिपय उता पनि लाग्ने भए। त्यसैले बैंकको व्याजदर वृद्धिले शेयर बजार यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष गरि दुई तरिकाले प्रभावित भएको छ। र कतिपयको भाषामा लामो समयदेखि थला परेको थियो र अहिले विस्तारै बौरिन थालेको छ। यसको दोष कसैले दुई तिहाईको कम्यूनिष्ट सरकारलाई दिएका छन् त कतिपयले केन्द्रीय बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई चार गुणाले चुक्तापूँजी बढाउन दिएको निर्देशनलाई। तर, वास्तविकता अर्थतन्त्रमा उपलब्ध लगानीयोग्य पूँजी अभाव, त्यसको लागतमा भएको वृद्धि र कर्जाको ब्याजदर आकासिनु नै हो।
यद्यपी, पछिल्ला आर्थिक प्रतिबेदनहअरुले अर्थतन्त्र करिब ७ प्रतिशतको हाराहारीमा विस्तार हुने संकेत गरेका छन् भने हालै सम्पन्न लगानी सम्मेलनमा ठूलो मात्रामा बिदेशी लगानीको प्रस्ताव आएको बताइएको छ। साथै ५ वर्षको लागि जनमतप्राप्त दुई तिहाइ सरकारले आर्थिक समृद्धिको नारा सहित ५ वर्षकै लागि नयाँ पञ्चवर्षीय योजना तयार गरेको छ र विभिन्न नीतिगत र कानुनी सुधारको प्रयास मार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई थप लगानी विस्तार गर्न प्रोत्साहित गर्न खोजिरहेको छ। मूख्य कुरा आर्थिक वर्ष अन्तिम चौमासमा चल्दै गर्दा दोस्रो बजारमा सुचिकृत कम्पनीहरुको नाफाको ग्राफ बढ्ने संकेत मिलेको छ। यी सबै कुराको सकारात्मक प्रभावले शेयर लगानीकर्ताहरुलाई उत्साहित बनाएको हो। फेरी पनि यो उत्साह दिगो हुनका लागि ब्याजदरको विषय संबोधन हुनै पर्छ र सकेसम्म विस्तारै घट्छ नभए पनि अहिले भन्दा बढ्दैन भन्नेमा लगानीकर्ता ढुक्क हुने वातावरण बन्न आवश्यक छ। 

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...