Skip to main content

नेप्सेको छाया मर्चेन्ट ‌बैकिङमा



 

गत दुई वर्षदेखी लगातार घटेर तिन वर्ष पहिलाको अवस्थामा आएको नेपाली शेयरको दोस्रो बजार (नेप्से)मा सुधार हुन नसकेपछि त्यसको छायाँ मर्चेण्ट बैंकिङमा पनि परेको छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था सँगै प्राथमिक शेयर जारी गर्ने र दोस्रो बजारमा सूचिकृत हुने संस्था बढे लगत्तै फस्टाएको मर्चेण्ट बैङ्किङ व्यवसाय अहिले दोस्रो बजारसँगै सुस्ताएको हो ।
राजनीतिक स्थायित्वपछि मुलुकको आर्थिक विकासले गती लिने र जलविद्युत तथा औद्योगिक क्षेत्रका कम्पनीहरु पनि दोस्रो
बजारमा प्रवेश गर्ने अनुमानमा प्राथमिक शेयरको विक्रि, शेयर रजिष्ट्रार, प्रत्याभुती (अण्डरराइटिङ) का साथै लगानी तथा सम्पत्ति व्यवस्थापनको काम गर्ने मर्चेण्ट बैङ्करहरुको संख्यामा उल्लेख्य बृद्धि भएको थियो ।  त्यसपछि वाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत सामुहिक लगानीकोष सञ्चालन गर्न र लगानी व्यवस्थापक (इन्भेष्टमेण्ट बैंकिङ)को काम गर्न पाउने व्यवस्था भएपछि मर्चेण्ट बैङ्किङ व्यवसाय थप फस्टाएको हो । अहिले अधिकांश बाणिज्य बैंकका आफ्नै मर्चेण्ट बैंक र लगानी व्यवस्थापक सञ्चालित छन् ।
तर, पछिल्लो समय दोस्रो बजार ओरालो लाग्न शुरु गर्नु र बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन प्रतिशपर्धाका कारण प्राथमिक शेयर तथा सामुहिक लगानीकोषमा लगानीकर्ताको आकर्षण कम हुँदा मर्चेण्ट बैङ्किङ व्यवसाय प्रभावित भएको देखिन्छ । अहिले नयाँ संस्थाको शेयर आउने क्रम कम मात्र भएको छैन पुरनाको हकप्रद शेयर समेत विक्न छाडेको छ । त्यती मात्रै होइन केही नयाँ कम्पनीले धितोपत्र बोर्डको नियमअनुसार सामुहिक लगानीकोष र आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि छुट्टाएको शेयर पनि विक्री नभएको अवस्था छ । सामुहिक लगानीकोषले नै नियमअनुसार बिना प्रतिस्पर्धा पाउने प्राथमिक शेयर खरिद नगर्दा कतिपय लगानी व्यवस्थापक मर्चेन्ट बैङ्कलाई सञ्चालन खर्च धान्न नै समस्या गर्न थालेको सुनिन थालेको छ ।
स्वभाविक पनि हो समग्र पूँजी बजारको अवस्था असहज रहेको अवस्थामा त्यही बजारको एक अंक पनि समस्यामुक्त हुन सक्दैन । गत वर्ष नेपाल बैंकले पुनः प्राथमिक शेयर (एफपीओ) जारी गर्दा शेयर प्रत्याभुति गरेका मर्चेण्ट बैंकले ठुलो परिमाणको शेयर नबिकेर सकार्न परेपछि कतिपय संस्था त्यस्तो कामा हच्किएका पनि छन् । मर्चेण्ट बैङ्क व्यवसायिक संस्था हो, जसले आफ्ना ग्राहक कम्पनीहरुलाई आवश्यक पूँजी परिचालन गर्न सहयोग गरे वापत शुल्क लिने र्छ । पूँजी परिचालन गर्ने क्रममा मर्चेण्ट बैङ्कले ग्राहकलाई आफैले शेयर वा ऋण लगानी गर्दैन । बरु, ग्राहक कम्पनीहरुलाई पूँजीबजारमा शेयर तथा ऋणपत्रहरु विक्रि गरेर आवश्यक रकम उठाउन सहयोग गर्छ । त्यसैगरी, मर्चेण्ट बैङ्कले संस्थागत तथा लगानी व्यवस्थापनका विषयमा परामर्श पनि दिने गर्छ । त्यसैले यस्ता वित्तीय संस्थालाई मर्चेण्ट (व्यापारी) बैङ्क र ती संस्था सञ्चालन गर्ने ब्यक्तिलाई मर्चेण्ट बैङ्कर भनिएको हो ।
वास्तवमा बैङ्किङ व्यवसायको शुरुआत नै मर्चेण्ट बैङ्किङबाट भएको मानिन्छ । मध्य युग (पाँचौंदेखी पन्ध्रौं शताब्दी) मा इटालीका व्यापारीहरुले यसको शुरुआत गरेको बताईन्छ । तत्कालिन मर्चेण्ट बैङ्करहरुले खासगरी खुद्रा व्यापारीहरुलाई व्यवसाय सञ्चालन गर्न तथा रकम परिचालन गर्न सघाउने गर्थे । तर, अहिले वाणिज्य बैङ्कदेखी इनभेष्टमेण्ट बैङ्कसम्म मर्चेण्ट बैङ्किङ व्यवसायमा सम्लग्न छन् भने ठुला ठुला औद्योगिक तथा व्यापारिक संस्थाहरुका साथै विभिन्न बैङ्क तथा वित्तीय संस्था पनि मर्चेण्ट बैङ्कर्सका ग्राहक छन् । फलस्वरुप, अहिले मर्चेण्ट बैङ्किङ आधुनिक पूँजी बजारको एक अभिन्न अङ्गको रूपमा विकसित भएको छ । साथै नेपालजस्ता कतिपय देशहरुमा केही निश्चित क्षेत्रका कम्पनीहरुले उनीहरुको निश्चित प्रतिशत शेयर मर्चेण्ट बैङ्कमार्फत सर्वसाधारणमा जारी गर्नु पर्ने अनिवार्य व्यवस्थाले यो व्यवसाय थप मौलाउँदै गएको छ ।
अवस्य पनि अर्थतन्त्रको संरचनागत परिवर्तन र लगानीका नयाँ नयाँ उपकरणहरुको विकास र विस्तारसँगै मर्चेण्ट बैङ्किङ व्यवसाय पनि विस्तारित प्रविधिमय बन्दै गएको छ । सार्वजनिक शेयरको विक्रि प्रवन्धक, निस्कासन व्यवस्थापक, शेयर प्रत्याभुती तथा रजिस्ट्रार, लगानी व्यवस्थापन (पोर्टफोलीयो म्यानेजमेण्ट), ऋण सहवित्तीयकरण (लोन सिण्डिकेशन) का साथै गाभ्ने गाभिने (मर्जर एण्ड एकयूजिशन) तथा विभिन्न कार्यमा परामर्श प्रदान गर्नु आधुनिक मर्चेण्ट बैङ्कका प्रमुख कार्य हुन । यती विस्तारित व्यवसायिक सम्भावना भएको यद्योग कुनै एक क्षेत्रमा मन्दी आउँदैमा समस्यामा पर्नु उचित होइन । यसलाई झन अवसरका रुपमा लिएर गहन अध्ययन र अनुसन्धान गरेर पुराना कमजोरी सच्याउँदै नयाँ व्यवसायिक रणनीति बनाएर अघि बढ्नु पर्ने अहिलेको परिस्थितीको माग हो । 
यद्यपी नेपाली पूँजी बजार अझै पनि विकसित हुने क्रममा नै छ । व्यवसायिक जगतमा संस्थागत संस्कारको अभ्यास शुरु हुदै छ । उद्योग व्यवसाय सञ्चालन गर्न आफ्नै पूँजी हुनु पर्छ वा बैङ्क तथा वित्तीय संस्थामा मात्रै भर पर्नु पर्छ भन्ने सोचको अन्त्य हुँदै छ । सङ्गठित संस्था तथा उद्योग प्रतिष्ठानहरुले पूँजी बजारको माध्यमबाट रकम परिचालन गर्न थालिसकेका छन् । जलबिद्युत तथा अन्य उत्पादनमुलक क्षेत्रका कम्पनीहरु दोस्रो बजारमा सूचिकृत हुनुले नेपालमा मर्चेण्ट बैङ्किङ व्यवसायको सम्भावना बढ्दै गएको स्पष्ट हुन्छ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डले पूँजीबजार सुधारमा उल्लेख्य नीतिगत र कानुनी व्यवस्थामा सुधार गरेको छ । उदाहरणका लागि र्आद्योगिक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा आकर्षित गर्न प्रिमियम मूल्यमा शेयर जारी गर्न पाउने देखि विस्तारै प्राथमिक शेयरको मूल्य बजारको माग र आपूर्तीले निर्धारण गर्ने (बुक बिल्डिङ) प्रणाली अवलम्वन गर्ने तयारी समेत गरिहेको छ । सो योजना कार्यान्वयन भएर पूँजी बजार विकसित तथा विस्तारित हुदै गएमा मर्चेण्ट बैङ्करहरुको व्यवसाय पनि विस्तारित हुने निश्चित छ ।
आधुनिक अर्थतन्त्रमा पूँजी बजारको विकास बिना देशको समग्र विकास असम्भव जस्तै हुन्छ । आर्थिक विकासको हिसावले नेपाल अती कम विकसित देश हो । देशको कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान निकै कम छ । औद्योगिककरण बिना आर्थिक विकासमा फड्को मार्न सकिदैन र प्रयाप्त पूँजी निर्माणको अभावमा औद्योगिककरण हुन सक्दैन । यस्तो अवस्थामा पूँजी निर्माणको शसक्त माध्यम आधुनिक र विकसित पूँजी बजार नै हो । जब पूँजीबजार मार्फत औद्योगिकिकरणका लागि आवश्यक लगानी जुटाउने कार्य शुरु हुन्छ, तब थप कम्पनीहरु पूँजी बजार प्रति आकर्षित हुन्छन् । त्यो मर्चेण्ट बैङ्किङ व्यवसायको लागि सुनौलो अबसर हो । तसर्थ, अहिले केही असहज अवस्था भए पनि व्यवसायलाई विविधिकरण गर्दै अनुसन्धान र विकासमा जोड दिनुको विकल्प मर्चेण्ट बैंकिङमा छैन ।
प्रशस्त सम्भावना र अबसरहरु हुँदा हुँदै पनि नेपाली मर्चेण्ट बैङ्किङ व्यवसाय समस्याबाट भने मुक्त छैन । देशमा राजनीतिक सङक्रमणकाल लम्बिदै गएकाले लगानीको वातावरण बन्न सकेको छैन । फलस्वरुप, अर्थतन्त्रमा अपेक्षित थप लगानी भित्रिन सकेको छैन भने कतिपय राम्रै अवस्थामा सञ्चालित उद्योगहरु पनि बन्द हुँदै छन् । यसले उत्पादनमुलक तथा औद्योगिक क्षेत्रका कम्पनीहरु पूँजीबजारमा प्रवेश गर्न भरपर्दो वातावरण बन्न सकेको छैन । देशको पूँजी बजारमा अत्यन्त संवेदनशिल र उतारचढाव युक्त वित्तीय क्षेत्रको बाहुल्यता छ । पूँजीबजारमा काराबोर हुने वित्तीय उपकरणहरु सिमित छन्, जसले गर्दा लगानी विविधिकरणको सम्भावना न्यून छ । त्यसैले गर्दा मर्चेण्ट बैङ्कहरुले लगानी व्यवस्थापन (पोर्टफोलीयो म्याजमेण्ट), धितोपत्र प्रत्याभुती (सेक्यूरिटिज अण्डरराइटिङ) का साथै अन्य विभिन्न वित्तीय सेवाहरु प्रदान गर्न सकेका छैनन् । उनीहरु केबल विक्रि प्रवन्धक र शेयर रजिष्ट्रारको काममा सिमित हुन पुगेका छन् ।
तर मर्चेण्ट बैङ्करहरुको सङख्या बढेअनुरुप ग्राहक (कम्पनी) को सङ्ख्या बढ्न नसक्दा उनीहरु बिच प्रतिस्पर्धा पनि बढ्दै गएको छ । त्यस्तो प्रतिस्पर्धामा खरो उत्रिन र आफ्ना ग्राहकको लगानीमा उचित प्रतिफल प्रदान गर्न सके मात्र व्यवसायमा टिक्न सकिनेमा कसैको दुइमत नहोला । प्रतिस्पर्धामा खरो उत्रन र चुनौतीलाई अवसरमा परिणत गर्न मर्चेण्ट बैंक आधुनिक प्रविधि, अद्यावधिक सुचना र दक्ष जनशक्तीले सुसज्जित हुनै पर्छ । मर्चेण्ट बंैक जस्ता सेवा प्रदायक उद्योगको मूख्य सम्पत्ती भनेकै उच्च मनोबल सहितको दक्ष र निपूर्ण जनशक्ती नै हो । त्यसैले अहिले दोस्रो बजार सुस्ताए पनि मर्चेण्ट बैंकहरुले भने क्षमता तथा दक्षता अभिबृद्धि र अनुसन्धान तथा विकासमा जोड दिनुपर्ने समय हो ।




Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...