Skip to main content

लगानी सम्मेलन र शेयर बजार





 

२०७५ चैत ७
नेपाल सरकारले यही चैत्र १५ र १६ गते काठमाडौंमा बृहत लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले सम्मेलनको तयारी अन्तीम चरणमा मात्रै पु¥याएको छैन, उक्त सम्मेलनमा सहागिताका लागि नाम दर्ता थर्ने समय समेत सकिएको जनाएको छ । यसको अर्थ सम्मेलनमा अपेक्षा गरिएजती सहभागी वा लगानीकर्ता जम्मा हुने पक्का भएको बुझीन्छ । अपेक्षा गरिए जस्तै खास लगानीकर्ताहरु आउने भएर नाम दर्ता बन्द गरिएको हो वा लगानीकर्ताका नाममा जो कोहीले प्रवेश पाउने र वास्तविक लगानीकर्तालाई अभाव नहोस भनेर दर्ता बन्द भएको सूचना वेबसाइटमा राखिएको हो प्रस्ट भने भएको छैन ।
जे होस सरकारको योजना अनुसार लगानी सम्मेलन भब्यताका साथ सम्पन्न हुने लगभग पक्का भएको छ । मूख्य कुरा सम्मेलन (कार्यक्रम) आयोजना गर्ने लक्ष्य मात्र पूर्ण हुनुभन्दा पनि बिदेशबाट ठुलो रकम लगानी ल्याउन सक्ने वा ठुलो मात्रामा लामो अवधीको सहुलियतपूर्ण ऋण दिन सक्ने लगानीकर्ता तथा ऋणदाता भित्राउने र उनीहरुलाई नेपाल लगानीका लागि सुरक्षित र लाभदायक रहेको शन्देश प्रवाह गर्ने हो ।  यसका लागि पनि सरकारले सबै शक्ती लगाएर तयारी र लगानीकर्तालाई आकर्षित गर्ने प्रयास स्वरुप विभिन्न नीतिगत निर्णय गर्नुका साथै विदेशी लगानी सम्वन्धी कानुनमा समेत हतार हतार संशोधन गरेको छ । भलै त्यसमा पनि कतिपय विवादित विषय समावेश भएको र कतिपय कानुन पहिला भन्दा झन कडोर बनेको तर्क समेत आएका छन् ।
हालै गण्डकी प्रदेशले पनि संघीय सरकारलाई पच्छ्याउदै औद्योगीक लगानी तथा व्यवसाय नियमन गर्ने कानुन ल्याएको छ, जसमा सो प्रदेशमा सञ्चालन हुने सबै उद्योग व्यवसाय प्रदेश मातहतका निकायमा दर्ता हुनै पर्ने व्यवस्था गरेको सुन्नमा आएको छ । साथै केन्द्र सरकारले ल्याएका तथा संशोधन गरेका कतिपय कानुनमा पनि अब्यवहारिक र झण्जटिला प्रावधान थपेको भन्ने आशयका टिका टिप्पणी आएका छन् । हुन त यी सबै कार्य असल नियतले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न आवश्यक उच्च दरको आर्थिक वृद्धि हासिल गर्न नभइ नहुने पूँजी निर्माणमा लागि लगानी जुटाउन यो सम्मेलन आयोजना गरिएको छ । र, यो असाध्यै सह्रानीय काम हो । सरकार तथा निजी क्षेत्रका औद्योगिक तथा व्यवसायिक संस्थाबाट यस्ता प्रचारात्मक कार्य गरेर विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने प्रचलन संसार भरी नै छ ।
नेपालमा पनि दुई वर्ष पहिला नै लगानी बोर्डले पहिलो लगानी सम्मेलन आयोजना गरेर अनुभव हासिल गरिसकेको छ । सो सम्मेलनमा करिब १५ खर्ब रुपैयाको हाराहारीमा लगानीको आशय आएको भनिएको थियो ।  त्यस आशयबाट कती लगानी वास्तवमै आयो भन्ने तथ्यांक त सरकारसँग पनि छैन । तर, पक्कै पनि यस्ता सभासमारोह र सम्मेलनहरु न्ै अर्थतन्त्रलाई चलायमान बनाएर देशमा केही हुँदै छ है भन्ने सकारात्मक शन्देश र प्रचार प्रसार गर्ने शक्तीशाली औजार हुन । नेपाल उलेग परिसंघले पनि मुलुकको आर्थिक विकासमा पूर्वाधार क्षेत्रको महत्वमा जोड दिँदै यसमा सरकारी तथा नीजि लगानी प्रोत्साहन गर्न नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको छ, जुन जिम्मेवार नीजि क्षेत्रको दायित्व पनि हो । कुनै पनि कुराको नराम्रो प्रभाव छिटो देखिने र राम्रो प्रभाव देखिन लामो समय लाग्ने भएकाले पनि पहिलो लगानी सम्मेलनको उपलब्धी अहिलेसम्म सबैले अनुभव गर्नेगरि नदेखिएको हुन सक्छ ।
अब दोस्रो लगानी सम्मेलनले लगानीकर्ताहरु माझ आकर्षक आयोजना र कार्यक्रमहरु प्रस्तुत गरेर पहिलाको आशयलाई समेत वास्तविक लगानीमा रुपान्तरण गर्न सक्नु पर्दछ । यसपाली सरकार वा बोर्डले पहिलोको अनुभवबाट सिकेर केही लगानी गर्न तयारी अवस्थामा रहेका आयोजनाहरु तयार पारेको बताएको छ । हुन त ती आयोजनको कती गहिराईमा प्राविधिक अध्ययन र लागत लाभ विश्लेषण भएको र कती आकर्षक छन् भन्ने विषय त गौण नै भए पनि करिब ३० खर्ब हाराहारीका ६३ परियोजनाहरु सरकारी र नीजि क्षेत्रको तर्फबाट यदी कुनै लगानीकर्ताले आशय देखाएर लगानी गर्न चाहे सम्झौता गर्न सकिने अवस्थामा छन् भनिएको छ । सरकार र राष्ट्रिय योजना आयोगले लामो समय देखी भन्दै आए पनि आयोजना बैंक तयार गर्न नसकेको अवस्थामा यो नै एक महत्वपूर्ण उपलब्धी हो भन्ने धारणा पनि छ । नतिजा भने कस्तो आउँछ हेर्न बाँकी नै छ ।    
यस्ता यावत सकारात्मक प्रयास र भइरहँदा देशको अर्थतन्त्रको दर्पण (ऐना) मानिने शेयर बजार भने ३ वर्षकै न्यून तहमा पुगेर कैयौं महिनादेखी स्थिर जस्तै छ । यसले गर्दा शेयर बजारमा नयाँ लगानीकर्ता थपिनु त परै जाओस भएका लगानीकर्ता पनि पलायन हुन थालेका छन् । कुनै पनि बजार अर्थतन्त्रको आधार सहभागीहरुको मनोबल हो । शेयर बजार पनि लगानीकर्ताको मनोबलमा टिकेको हुन्छ । अहिले नेपाली लगानीकर्ताको मनोबल निकै कमजोर अवस्थामा पुगेको अनुमान लगाउन सकिन्छ । मुलुकको समष्टिगत आर्थिक अवस्था पहिलाभन्दा राम्रो र सूचिकृत कम्पनीहरुको वित्तीयमा समेत सुधार भइरहेको स्थितिमा हुँदा कुनै समय प्रति कित्ता रू. ७ हजारसम्म बिकेका कम्पनीका शेयर अहिले ५ सयमा पनि किन्ने मान्छे नपाउनुले यही संकेत गर्छ ।
लगानीकर्ताको मनोबल अत्यन्तै घटेकाले अधिकांश प्राविधिक विश्लेषणले बढ्ने सङ्केत गर्दा पनि शेयर बजारमा सुधार आउन सकेको छैन । यसरी खस्केको मनोबल उकास्ने गरि सरकारी तबरबाट केही कार्यक्रम आउन भनेर लगानीकर्ताहरुका संगठनले विभिन्न दवावमुलक अभियान समेत सञ्चालन गरेका छन् । त्यही आन्दोलनको बलमा गठन भएको मुद्रा तथा पूँजी बजार अध्ययन र सुझाव समितीले विभिन्न सुधारात्मक उपाय सिफारिश पनि गरेको हो । कतिपय सुझाव कार्यान्वयन भए भनिए पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन र बजार जस्ताको तस्तै नै छ । यसरी शेयर बजार धारासाही हुनुमा आर्थिक तथा गैरआर्थिक दुबै कारण छन् । आर्थिक कारणमा बजारमा शेयरको मागको तुलनामा आपूर्ती बढ्दै जानु, बैकिङ प्रणालीमा पूँजी अभावका कारण ब्याजदर उच्च हुनु र दोुस्रो बजारमा सिमित क्षेत्रका सिमित कम्पनीहरुको मात्र बाहुल्यता हुनु । बजार अर्थतन्त्रमा यस्ता समस्या वा असन्तुलनहरु भई रहन्छन् र बजारले त्यसलाई विस्तारै पचाउँदै जान्छ । 
तर, गैरआर्थिक कारण यस्ता हुन्छन् जुन वास्तविकतामा सत्य नभए पनि आम लगानीकर्तामा लामो समयसम्म नकारात्मक शन्देश प्रवाह गरिरहन्छन् र कुनै ठुलो लगानीको निर्णय गर्दा अनायासै मनोबैज्ञानिक त्रास सृजना गरिरहन्छन् । अहिले नेपाली शेयर बजारका लगानीकर्ताको बनोबल उकासिन नसक्नुमा पनि यस्तै गैरआर्थिक कारणको प्रभाव हुन सक्छ । गैरआर्थिक कारणका सबभन्दा बढी जिम्मेवार मानिने गरेका तत्व हुन् राजनीतिक अस्थिरता, सत्तारुढ पार्टिको आर्थिक दर्शन, प्रधानमन्त्री तथा अर्थमन्त्रीका आभिब्यक्त । भलै अहिलेको सरकार कम्यूनिष्ट विचारधारा बोक्ने पार्टीको भए पनि एकाध बाहेक प्रधानमन्त्री तथा अर्थमन्त्रीबाट शेयर बजार प्रति नकारात्मक टिप्पणी आएका छैनन् । बरु दोहोरो अङ्कको आर्थिक बृद्धि हासिल गर्न स्वदेशी वा बिदेशी जुन सुकै स्रोतबाट भए पनि पूँजी निर्माण गर्नु पर्ने बताउँदै आएका छन् । त्यसका लागि आँफुले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनीहरुको भनाइ छ र त्यसैको प्रतिफल हो अहिले हुन गइरहेको लगानी सम्मेलन । तर, पनि शेयर बजारका लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।
लगानीकर्ता ढुक्क हुन नसक्नुको अर्को कारण हो नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) जस्ता निकायको प्रमुखका अपरिपक्क अभिब्यक्ती र कहिलेकाही अशान्दर्भिक नीतिगत निर्णय । बजारका आधारभुत समस्याहरुको वास्तविक उपचारको सट्टा माऊ पार्टीको दर्शनका भरमा गरिने व्यवहार र अभिब्यक्तिबाट लगानीकर्ताहरु विश्वस्त हुन सकेका छैनन् । बजारको वास्तविक समस्या समाधान गर्नुको सट्टा जसरी हुन्छ नेप्से परिसूचक बढाउनु प¥यो भनेर अशान्दर्भिक र अपरिपक्क निर्णयहरु बढी गरेको देखिन्छ । यस्ता गतिविधिले समस्या समाधानमा सहयोग पु¥याउनुको सट्टा झन बल्झाउने गरेको पाइन्छ ।
शेयर बजार आधुनिकिकरण र विस्तारका कार्यक्रमहरु प्रभावकारी बन्न सकेका छैनन् । पटक पटक सरकारी स्वामित्वका संस्थानलाई शेयर बजारमा लगानी गर्न लगाउने बताइदै आएको छ । कुनै फरक अवस्थामा फरक उद्देश्यका लागि स्थापना भएर संस्थाको रकम तुलनात्मक रुपमा जोखिमयुक्त दोस्रो बजारमा लगानी गर्न लगाउनु कत्तिको जायज हो बहसको विषय बन्न सक्छ । लामो समयदेखी त्यत्तिकै अल्झिएर रहेको गैरआवासीय नेपालीहरुले शेयर बजारमा लगानी सक्ने सम्बन्धि व्यवस्था अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । केही महिना पहिला नै शुरुआत गरिएको स्वचालिन अनलाईन कारोबार प्रणाली पनि प्रभावकारी बन्न सकेको छैन । यसलाई गम्भिर रूपमा लिएर आम लगानीकर्ताले सहजरुपमा अनलाईन काराबोर गर्ने वातावरण बनाउन सके पनि शेयर बजारका साथै लगानीकर्ताहरुको मनोबलमा केही सुधार आउन सक्छ ।
अर्थतन्त्रको ऐना मानिने शेयर बजार लामो समयसम्म निश्कृय (डेडलक) अवस्थामा रहनु कुनै पनि रूपमा राम्रो होइन । यसले लगानी सम्मेलनमा सहभागी हुन आउने अन्तरराष्ट्रिय लगानीकर्ता तथा ऋणदातामा नेपालका बारेमा गतिलो सन्देश जादैन । नेपालमा नौलो भए पनि अन्तरराष्ट्रिय लगानीकर्ताहरुमा कुनै देशमा व्यवसाय वा लगानी गर्दा सबैभन्दा पहिला त्यहाँको पूँजी बजार अध्ययन गर्ने प्रचलन हुन्छ । त्यसको प्रमुख कारण हो एक व्यवसायिक लगानीकर्ताले कुनै पनि नयाँ बजारमा लगानी गर्दा त्यहाँ प्रवेश गर्ने, यद्योग सञ्चालन गर्ने र उचित समयमा बाहिरिन सक्ने वातावरण, सम्भावना र कानुनी प्रावधान तथा प्रकृयाको अध्ययन गर्नु हो । आधुनिक लगानीकर्ताको यो मनोविज्ञानलाई बुझेर सोही अनुसार आन्तरिक वातावरण र कानुनी प्रकृयामा सुधार नगर्ने हो भने सम्मेलन र भाषणले मात्रै लगानी आउनेवाला छैन ।
अहिलेको दोस्रो लगानी सम्मेलनले यावत विषयलाई ध्यानमा राखेर पूँजी बजारमा विदेशी लगानी खुला गर्ने विषयमा गहन छलफल गर्ने अवसर प्रदान गर्नु पर्छ । अहिलेको सरकार र प्रधानमन्त्रीको घोषणा अनुसार समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन र दोस्रो लगानी सम्मेलन सफल पार्नका लागि पनि शेयर बजारको सुधार अपरिहार्य छ । नेप्सेको अवस्था यस्तै रहेमा पूँजीबजारको विश्लेषण गरेर मात्र लगानीको निर्णय गर्ने बानी परेका बिदेशी लगानीकर्ताहरु सजिलै नेपाल आउने सम्भावना कम छ । यस यर्थाथतालाई आधार मानेर प्रस्तावित लगानी सम्मेलनमा भाग लिन आउने बिदेशी लगानीकर्ता माझ नेपालको शेयर बजार पनि लगानी एक सम्भावित स्थान रहेछ भन्ने शन्देस प्रवाह गर्न सबै सरोकारवालाहरुबाट पहल हुनु जरुरी छ ।
 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...