Skip to main content

कुनै पनि कर्मचारी खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको आधारमा अधिकतम २० वर्ष कायम हुनुपर्छ,

 


सरकारले कर्मचारीतन्त्रमा सुधार चाहन्छ भने प्रस्तावित विधेयकमा कुनै पनि कर्मचारी खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको आधारमा उसको सेवा अवधि पुनः अर्को तह वा पदमा प्रवेश नगरेको अवस्थामा अधिकतम २० वर्ष कायम हुनुपर्छजसमा प्रचलित व्यवस्था बमोजिम नियमित बढुवा र योग्यताका आधारमा उपल्लो तह वा अन्य सेवामा प्रतिस्पर्धाको अधिकार सुनिश्चित हुन्छ ।


सरकारले हालै निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव तथा प्रतिकृया आह्वान गरेको छ । संघीयता सँगसँगै आउनुपर्ने ऐन विभिन्न स्वार्थ समुहको चलखेल र राजनीतिक दाउपेचका कारण अहिलेसम्म मस्यौदामा नै सिमित छ । यद्यपी, केही समय पहिला तयार भएको मस्यौदामा केही सुधारात्मक विषय थपेर सार्वजनिक रूपमा सुझाव आव्हानले सहभागितामूलक नीति तर्जुमाको महत्त्वपूर्ण कदमलाई संकेत गरेको छ। यो कदमले राज्य प्रशासनको मेरुदण्डको रूपमा रहेको निजामती सेवामा सुधार गर्न आन्तरिक पुनःसंरचना मात्र नभई व्यापक सामाजिक सहमति पनि आवश्यक छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको देखाउँछ ।

परामर्शको लागि मस्यौदा सार्वजनिक गरेर नीति निर्माताहरूले नागरिक, विज्ञ र सरोकारवालाहरूलाई दक्षता, पारदर्शिता र सार्वजनिक जवाफदेहिता जस्ता विषयमा चिन्तन गर्ने अवसर सिर्जना गरेका छन्। यसबाट थप जनउत्तरदायी, योग्यतामा आधारित र प्रतिस्पर्धी सार्वजनिक प्रशासन निर्माणमा योगदान पुर्याउने अपेक्षा छ ।पक्कै पनि मस्यौदामा धेरै सुधारका प्रावधान समावेश गरिएका छन् । तर सबैभन्दा महत्वपूर्ण विषय कर्मचारीको सेवा अवधीका सन्दर्भमा भने अहिले भइरहेको व्यवस्थाभन्दा पनि पछाडी फर्कने खालको व्यवस्था प्रस्ताव गरिएको छ, जुन सामाजिक न्याय, सुशासन, प्रशासनिक दक्षता र सन्तुलित विकासका दृष्टिले निकै पश्चगामी हुने देखिन्छ । यस आलेख तिनै विषयमा केन्द्रित रहेको छ ।  

नेपालको निजामती सेवा लामो समयदेखि राज्यको प्रशासनिक मेरुदण्डको रूपमा उभिएको छ, जसले राजनीतिक संक्रमण र विकास चक्रहरूमा राज्यको निरन्तरता सुनिश्चित गर्दछ। तैपनि, देशले उच्च आर्थिक वृद्धि, सुधारिएको शासन र समावेशी विकासको आकांक्षा राख्दै जाँदा, अहिलेको निजामती संरचनाको सीमितताहरू बढ्दो रूपमा स्पष्ट हुँदै गइरहेका छन्। एक पटक स्थिरताको लागि डिजाइन गरिएको प्रणाली अहिले दक्षता, नवीनता र आर्थिक रूपान्तरणको लागि बाधन बन्ने जोखिममा छ।

हालको निजामती सेवाको ढाँचा लामो सेवा अवधि, सीमित प्रतिस्पर्धात्मक प्रवेश, नेतृत्व नवीकरणमा ढिलाइ  र कार्यसम्पादनमा आधारित प्रोत्साहन संरचनाको अभाव द्वारा अभिसप्त छ। अनिवार्य अवकाश उमेर ५८ मा रहँदा, जागिर अवधि लामो तर प्रभावकारी सेवा अवधि छोटो बनेको छ, जसले गतिशील र प्रतिभावान युवाको प्रवेशलाई संकुचित गरेको छ। समयसँगै, यसले एक जागिरे भ्रष्ट संस्कृतिको विकासमा योगदान पुर्‍याएको छ, जहाँ कथित वरिष्ठता कार्यसम्पादनभन्दा बढी महत्वपूर्ण छ भने परिवर्तन-प्रतिरोधी व्यवहारको प्रभुत्व छ। अझ महत्वपूर्ण कुरा, यी संरचनात्मक जटिलताहरूले मौलाउँदो भ्रष्टाचार, प्रशासनमा बिचौलिया सञ्जालहरूको प्रवेश र आर्थिक स्वार्थको द्वन्द जस्ता विकृतिहरूको लागि उर्वर भूमि सिर्जना गरेका छन् । विद्यमान प्रणालीको कम चर्चा गरिएको तर सुशासनमा लागेको गहिरो धक्कामध्ये एक कर्मचारी तन्त्रमा ब्याप्त भ्रष्ट व्यवहारको सामान्यीकरण पनि हो। जब वृति विकास र प्रगतिको गति ढिलो हुन्छ, कार्यसम्पादन मुल्यांकन नाम मात्रको हुन्छ र सेवा सुविधाका संरचनाहरू न्यायसंगत हुँदैनन सार्वजनिक पदहरूलाई सेवा प्रदायकको भूमिकामा मात्र नभई कमाउने (भाडा खाने) अवसरको रूपमा हेर्न थालिन्छ। समयसँगै, यसले नैतिक सीमाहरू मेटाउँछ, जसले गर्दा भ्रष्टाचारका गम्भीर रूपहरू पनि नियमित वा "प्रणालीको भाग" का रूपमा देखिन्छन्। यहाँ जोखिम केवल व्यक्तिगत दुर्व्यवहार मात्र होइन, तर भ्रष्ट अभ्यासहरूको संस्थागतीकरण हो।

त्यसकारण प्रस्तावित निजामती सेवा विधेयकले इमान्दारीका साथ यस्ता विकृतीको निराकरणका उपायहरू खोज्नुपर्छ। सरकारले कर्मचारीतन्त्रमा सुधार चाहन्छ भने प्रस्तावित विधेयकमा कुनै पनि कर्मचारी खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको आधारमा उसको सेवा अवधि पुनः अर्को तह वा पदमा प्रवेश नगरेको अवस्थामा अधिकतम २० वर्ष कायम हुनुपर्छ, जसमा प्रचलित व्यवस्था बमोजिम नियमित बढुवा र योग्यताका आधारमा उपल्लो तह वा अन्य सेवामा प्रतिस्पर्धाको अधिकार सुनिश्चित हुन्छ । यस विषयलाई गहन रूपमा अध्ययन गरी कार्यान्वयन गर्न सकेमा प्रशासनिक दक्षता र सुशासनभन्दा बाहिर महत्त्वपूर्ण आर्थिक-सामाजिक प्रभावहरू हासिल हुनेछन्।

जागिरको कार्यकाल छोटो पार्दा प्रभावकारी सेवा अवधी (इफेक्टिभ टेनीयर) मात्रै बढ्दैन यसले लामो समयदेखि प्रशासनमा चलिरहेको विचौलियाको सञ्जालहरूलाई ध्वस्त पार्नुका साथै ब्याप्त मिलीभगत र भाडा-खोज (रेण्ट सिकिङ्क) को संस्कृती समाप्त बनाउँछ। एक पटक सेवा प्रवेश गरेको आधारमा जागिर अवधी सीमित र कार्यसम्पादन-आधारित प्रगती पथ बनाउने हो भने कर्मचारीहरूले नेता तथा मध्यस्थकर्तासँग अनौपचारिक गठबन्धन निर्माणमा समय लगानी गर्ने सम्भावना कम हुन्छ। बरु, मापनयोग्य परिणामहरू र व्यावसायिक विश्वसनीयता तर्फ ध्यान केन्द्रित हुन्छ ।

चरम भ्रष्टाचारको अर्को कारण भनेको नागरिक, व्यवसाय र सार्वजनिक कार्यालयहरूको बीचमा काम गर्ने बिचौलिया वा अनौपचारिक एजेन्टहरूको प्रशासनमा पहुँच र निर्णय प्रकृयामा खेल्ने भूमिका हो। प्रक्रियागत जटिलता, तजविजि अधिकार र अपारदर्शी निर्णय प्रणालीहरूमा त्यस्ता सञ्जालहरू प्रायः शक्तिशाली र संस्थागत रूपमा विकसित भएका हुन्छन् जसले सेवा वितरणलाई विकृत गर्दछ, सेवालाई महँगो र सार्वजनिक विश्वासलाई कमजोर बनाउँछ। नेपालको अहिलेको अवस्था यस्तै हो, जुन प्रक्रियाहरू सरलीकृत गरेर, पारदर्शिताका मापदण्ड बढाएर  वा कर्मचारीको सुविधा बढाएर मात्र सुधार हुने छैन। निजामती सेवा सुधारका लागि सार्वजनिक सेवा प्रवाहमा बिचौलियाहरूको उपस्थितिलाई उल्लेखनीय रूपमा कमजोर बनाउन आवश्यक छ। एउटा कर्मचारी ३५-४० वर्षसम्म पदमा रहने व्यवस्थाको अन्त्य गरी सेवाहरू अनुमानित, समय-सीमाबद्ध र निष्पक्ष रूपमा प्रशारित हुने अवस्था सिर्जना भएमा बिचौलियाहरूको लागि ठाउँ स्वाभाविक रूपमा संकुचित हुन्छ।

सेवा अवधी सँगसँगै कर्मचारीको पारिश्रमिक प्रणालीको सुधार पनि भ्रष्ट्राचार न्यूनीकरणमा उत्तिकै महत्त्वपूर्ण छ। हालको संरचनामा माथिल्लो पदमा रहने र पहुँचवाला कर्मचारीले कार्यालय समयमा कार्यालयकै काम गरेर भत्ता खाने तर अन्यले नपाउँने विभेदकारी व्यवस्था र असमानता मात्रै छैन यसले कामचोर प्रवृती र अनियमिततालाई समेत मलजल गरेको छ। सेवा अवधीसँगै सबै प्रकारका भत्तालाई हटाएर आधारभुत तलबमा एकीकृत गर्नाले निष्पक्षतालाई सुदृढ पार्दै अख्तियार दुरुपयोगको अवसरहरू कम गर्छ। यसबाहेक, अपारदर्शी बैठक भत्ता र समान अभ्यासहरू हटाउनाले करदाता प्रतिको जवाफदेहिता सुधार आउँछ । कार्यसम्पादन मूल्याङ्कनसँग जोडिएको बलियो, स्वच्छ र अनुमानित तलब प्रणालीले भ्रष्ट व्यवहारलाई निरुत्साहित गर्न शक्तिशाली भूमिका खेल्छ।

अब कुरा गरौं सेवा अवधी सुधारले शासन प्रणालीभन्दा बाहिर व्यापक रूपमा सामाजिक-आर्थिक क्षेत्रमा पार्न सक्ने सकारात्मक प्रभावको । पछिल्ला दशकहरूमा बढ्दै गएको शहरी र ग्रामीण अर्थतन्त्र बीचको असन्तुलनको प्रमुख कारण निजामती कर्मचारीहरूमाझ प्रमुख शहरहरू, विशेष गरी संघीय तथा प्रदेश राजधानीमा घरजग्गा र सम्पत्ति जोड्ने प्रवृत्तिमा भएको वृद्धि पनि एक हो। यो केवल व्यक्तिगत वित्तीय छनौट र आर्थिक स्वतन्त्रताको विषय मात्र होइन; यसले स्वार्थको द्वन्दका कारण सिर्जित प्रणालीगत भष्ट्रीकरण प्रतिबिम्बित गर्दछ। केन्द्रीकृत प्रशासकीय संरचनाहरूमा लामो कार्यकालले अधिकारीहरूलाई शहरी केन्द्रहरूमा आफ्नो आर्थिक र सामाजिक हैसीयत प्रदर्सन गर्न प्रोत्साहित गर्दछ । यसले ग्रामीण क्षेत्रहरूबाट मानव र वित्तीय पूँजी रित्तिदै गर्दा शहरी क्षेत्रहरूमा घरजग्गा बजारलाई सट्टेवाजीको औजारमा पुर्‍याएको छ।

यस ढाँचाका केहि दुस्परिणामहरू छन्। शहरी जग्गा र आवासमा लगानी असमान रूपमा प्रवाहित हुँदै जाँदा, कृषि, साना उद्योग, पर्यटन र ग्रामीण उद्यम जस्ता उत्पादक क्षेत्रहरूलाई कम ध्यान दिइएको छ। गाउँ र साना वस्तीहरूले जनसंख्या घट्ने प्रक्रियाले ग्रामीण भुगोलको "मरुभूमिकरण" मात्र गरेको छैन गाँउहरू "निर्जनीकरण"दुरदराजमा अत्यावश्यक सेवाहरू दुर्लभ भएका छन् भने स्थानीय अर्थतन्त्रमा मन्दी र क्षेत्रीय असमानताहरू फराकिलो बनेका छन्।निजामती सेवाको वैज्ञानिक सुधारले यो प्रवृत्तिलाई उल्ट्याउन मद्दत गर्न सक्छ। छोटो सेवा अवधि चक्र, खुला प्रतिस्पर्धा मार्फत पुन: प्रवेशको अवसरले एकल भौगोलिक र संस्थागत प्रणालीमा दीर्घकालीन संलग्नता कम गर्दछ। यसले सार्वजनिक क्षेत्र भित्र र बाहिर दुवै तर्फको श्रम बजारलाई गतिशील बनाउँछ । न्यूनतम २० वर्षको सेवापछि निवृत्त हुने कर्मचारी आफ्नो पूर्ण उत्पादशील उमेरमा हुन्छ र निजामती सेवामा हासिल गरेको सीप, बचत रकम र अनुभवलाई आफ्नो क्षेत्रमा उद्यमहरू तर्फ पुनर्निर्देशित गर्न सक्छ। यसले सीप, दक्षता र लगानी स्थानीय तहमा फर्काउने सम्भावना सिर्जना गर्दछ र विद्यमान क्षेत्रीय असन्तुलन कम गर्न सहयोग गर्छ।

यसबाहेक, विस्तारित कार्यकालमा असमान, प्रायः अस्पष्ट सम्पत्तिको संचयलाई निरुत्साहित गरेर अप्रत्यक्ष रूपमा शहरी सम्पत्ति बजारहरूमा सट्टेवाजी व्यवहारलाई नियन्त्रण गर्न मद्दत गर्छ । जब अवैध संचयको लागि प्रोत्साहन घट्छ, यसले केहि क्षेत्रहरूमा पूँजीको अधिक असन्तुलित विनियोजन र अर्कोमा अभाव न्यूनीकरणमा योगदान पुर्‍याउछ। छोटो कार्यकालको अर्को महत्वपूर्ण आयाम निजामती सेवा भित्र झांगिएको "अति-महत्वाकांक्षा" संस्कृतिमा परिवर्तन पनि हो। धेरै लामो सेवा अवधीले कतिपय अवस्थामा, व्यक्तिहरू व्यक्तित्व विकास वा सार्वजनिक योगदानको लागिभन्दा पनि प्रणालीको शोषण गर्ने कथित अवसरहरूको लागि सार्वजनिक सेवामा प्रवेश गर्छन् वा टिकी रहन्छन्। जब जवाफदेहिताको संयन्त्र कमजोर हुन्छ र सुशासनमा संलग्न कर्मचारी साथीहरूले न्यून प्रतिफलको सामना गर्छन् तब यो प्रणालीमा शोषणको मानसिकता थप बलियो हुन्छ।

जव सेवा अवधी र वृति विकासको मार्गहरूलाई पुन: परिभाषित गरेर छोटो, कार्यसम्पादनमा आधारित र बढी प्रतिस्पर्धी बनाउँदै लगिन्छ त्यसले प्रणाली शोषणको संस्कृतिलाई चुनौती दिन्छ । अनि सार्वजनिक सेवालाई जीवनभरको रोजगारीको हकको सट्टा व्यावसायिक जीवनको एक चरणका रूपमा बुझ्न सुरू हुन्छ। प्रतिष्ठा, निष्ठा, र मापनयोग्य योगदानले अनौपचारिक शक्ति र सम्पत्तिको संचय भन्दा प्रमुखता प्राप्त गर्दछ। यस्तो वातावरणमा, ठगी र गम्भीर भ्रष्टाचारको सामान्यीकरण कायम राख्न गाह्रो हुन्छ।

यो सुधारको लागि सबैभन्दा बलियो तर्क वास्तविक अर्थतन्त्रमा यसको सम्भावित प्रभावमा निहित छ। नेपालको आर्थिक रूपान्तरण जीवन्त कृषि, उत्पादन, पर्यटन र साना तथा मझौला उद्यमहरूमा निर्भर गर्दछ। तैपनि, यी क्षेत्रहरूले प्रायः प्रशासनिक अवरोधहरू, ढिलाइहरू, र अकुशल वा भ्रष्ट प्रक्रियाहरूद्वारा लादिएको अनौपचारिक लागतहरूको सामना गर्छन्। जब व्यवसायहरूले जटिल प्रणालीहरूको सामना गर्नु पर्दैन वा काममा मध्यस्थकर्ताहरूमा भर पर्नुपर्दैन, राष्ट्रीय उत्पादकत्व वृद्धि हुन्छ र नयाँ लगानी आकर्षित हुन्छ।

छरितो, पारदर्शी  र जवाफदेही निजामती सेवाले व्यावसायिक वातावरणमा उल्लेखनीय सुधार गर्न सक्छ। छिटो निर्णय लिने, कम विवेक र स्पष्ट नियमहरूले व्यवसाय गर्ने लागत घटाउँछ। उद्यमीहरूले कानुन अनुपालना र अनावश्यक वार्ताको सट्टा नवीनता र व्यवसाय विस्तारमा ध्यान केन्द्रित गर्न सक्छन्। समयसँगै यसले रोजगारी सिर्जनालाई सघाउँछ, प्रतिस्पर्धि क्षमता बढाउन र दिगो तथा सन्तुलित विकासलाई बढावा दिन्छ।

यसो भन्दैमा सार्वजनिक सेवाको अवधि घटाउने, स्वैच्छिक अवकाशलाई सहजीकरण गर्ने  र सेवा सुविधालाई सामाजिक न्यायसंगत बनाउने विषय आफैमा साध्य होइन्। तिनीहरूको सावधानीपूर्वक विन्यास, कानुनी संशोधन  र विवेकपूर्ण कार्यान्वयन अत्यन्तै महत्वपूर्ण हुनेछ । यस्तो सुधार प्रयासमा विद्यमान प्रणाली भित्रबाट प्रतिरोध आउन सक्छ, कानुनी संशोधन जटिल हुन सक्छ र प्रारम्भिक चरणमा मानव स्रोत व्यवस्थापनमा चुनौती देखिन सक्छ। यी चुनौतीलाई चरणबद्ध कार्यान्वयन, विस्तृत मानव स्रोत योजना, सरोकारवालासँग परामर्श र पाइलट परीक्षणमार्फत समाधान गर्न सकिन्छ।

२०८२ भदौको युवा विद्रोह र फागुनको आम निर्वाचनपछि नेपाल एउटा निर्णायक मोडमा उभिएको छ। प्रशासनिक संस्थाहरूको पुनर्संरचनामा आज गरिएका छनौटहरूले देशको शासन, आर्थिक समुन्नतीको मार्ग र आगामी दशकहरूको लागि सामाजिक संरचनालाई आकार दिनेछन्। यदि स्पष्टता र प्रतिबद्धताका साथ हेरियो भने निजामती सेवा सुधार महँगा राजनीतिक परिवर्तनभन्दा बढी परिणाममुखी हुन सक्छ । यसले गुमेको विश्वास पुनर्स्थापित गर्न, विकासलाई पुन: सन्तुलित गर्न र वास्तविक अर्थतन्त्रको सम्भाव्यतालाई प्रष्फुटित गर्न सक्छ।यसले नीतिगत परिवर्तन मात्र होइन, मानसिकतामा परिवर्तनको माग गर्दछ: अधिकारबाट सेवामा, अस्पष्टताबाट पारदर्शितामा र जडताबाट गतिशीलतामा।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...