Skip to main content

चालुखर्च पनि नधान्ने राजस्व लक्ष्य

होमनाथ गैरे
असार ३१ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रवार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०६८/६९ को बजेटले चालु खर्चलाई पनि नधान्ने राजस्व लक्ष्य राखेको छ । बजेटमा अनुमानित राजस्व रु। २ खर्ब ४१ अर्ब छ भने  साधारण खर्च रु। २ खर्ब ६६ अर्ब प्रस्तावित छ । यसले सरकारले राजस्व स्रोतले धान्नै नसक्ने गरि बजेट निर्माण गरेको देखिन्छ ।
त्यसैगरी प्रस्तावित आय-व्यय अनुमानमा बजेट घाटा बिगतका वर्षहरुमा भन्दा निकै उच्च छ । सो बजेटले सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ऋण लिएर खर्च गर्न पाउने प्रचलित सिमाको समेत ख्याल गरेको छैन । आगामी आवका लागि अनुमान गरिएको कुल खर्च रु। ३ खर्ब ८४ अर्बमध्ये राजस्वबाट २ खर्ब ४१ अर्व सावाँ फिर्ताबाट ५ अर्व र वैदेशिक अनुदानबाट ७० अर्व ब्यहोर्दा पनि रु। ६७ अर्व अपुग हुनेछ । सो घाटा बजेट चालु आवको अनुमानित कूल गार्हस्थ्य उत्पादन तथा वास्तविक कूल खर्चको क्रमशः ५ र २५ प्रतिशत हुन आउँछ । सो घाटा पूर्ति गर्न सरकारले बैदेशिक तथा आन्तरिक ऋणबाट क्रमशः रु। ३० र ३७ अर्ब परिचालन गर्ने बताएको छ ।
साथै बजेटमा सरकारले उठाउन पाउने आन्तरिक ऋणको अंश पनि प्रचलित सिमाभन्दा बढी हुने देखिन्छ । अन्तरराष्ट्रिय मुद्राकोषको बजेट सहयोग पाउन अघिल्लो आवको वास्तविक खर्चको ११ प्रतिशतभन्दा धेरै आन्तरिक ऋण उठाउन नपाउने सर्त छ । यस पालीको बजेटले आगमी आवमा उठाउन प्रस्ताव गरेको आन्तरिक ऋण रु। ३७ अर्ब चालु आवको संशोधित खर्च झण्डै २ खर्ब ७० अर्बको १३ प्रतिशतभन्दा धेरै हो ।

प्रस्तुत बजेटले सरकारी खर्चको संरचना पनि परिवर्तन गरेको छ । बिगतमा कुल सरकारी खर्चलाई साधारण पूँजीगत र साँवा भुक्तानी गरि ३ शिर्षकमा विभाजन गर्ने गरिएको भए पनि अहिले वित्तीय व्यवस्था भन्ने नयाँ शिर्षक समाबेश गरिएको छ । सरकारले गर्ने ऋण र शेयर लगानी समाबेश गरिएको सो शिर्षकमा रु। २५ अर्व ३८ करोड वा कुल रकमको ६ दशमलव ६० प्रतिशत रकम विनियोजन गरेको छ । यसरी रकम विभिाजित भएपछि सरकारको पूँजीगत खर्च गत आवको तुलनामा झण्डै ४३ प्रतिशत कम हुने देखिन्छ । सरकारले तयार गरेको नयाँ वित्तीय वर्गीकरणअनुसार कूल विनियोजनको ६९ दशमलव २७ प्रतिशत चालु खर्च हुनेछ भने पूँजीगत खर्च रु। ७२ अर्व ६१ करोड जम्मा १८ दशमलव ८६ प्रतिशत मात्र हुनेछ । साथै साँवा भुक्तानीका लागि कुल खर्चको ५ दशमलव २७ प्रतिशत वा रु। २० अर्व ३० करोड प्रस्ताव गरिएको छ । आगामी आवका लागि प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानभन्दा २५ दशमलव ६७ प्रतिशतले बढी हो ।

नयाँ खर्च संरचना प्रस्ताव गरे पनि साविकको ब्यवस्थाअनुसार चालु खर्च ५६ दशमलव ०८ प्रतिशत पूँजीगत खर्च ३८ दशमलव ६४ प्रतिशत र साँवा भुक्तानी ५ दशमलव २८ प्रतिशत हुने बजेटमा उल्लेख छ । त्यसका आधारमा चालु आवको संशोधित अनुमानको तुलनामा चालु खर्च १९ दशमलव ८२ र पूँजीगत खर्च ३७ दशमलव ६२ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी कूल विनियोजनमध्ये विकास कार्यक्रमका लागि रु। २ खर्ब २ अर्व वा ५२ दशमलव ६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु। १ अर्ब ८२ अर्व वा ४७ दशमलव ३८ प्रतिशत रकम प्रस्ताव गरेको अर्थमन्त्रीको भनाई छ ।

बजेटमा आगामी आवको समग्र आर्थिक वृद्धिदर ५ प्रतिशत र वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ । चालु आवमा सरकारले प्रक्षेपण गरेको ५ दशमलव ५ प्रतिशत भन्दा निकै कम ३ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि भएको छ भने मुद्रास्फिती पनि १० प्रतिशतको हाराहारीमा छ । त्यस्तै आगामी आवमा भुक्तानी सन्तुलन सकारात्मक हुने वित्तीय प्रणालीमा तरलताको अवस्था सहज हुने पूँजी बजारले गति लिने र लगानीको वातावरणमा उल्लेख्य सुधार हुने अपेक्षा बजेटमा गरिएको छ । साथै आगामी आवमा मूल्यस्थितिलगायत  समष्टिगत आर्थिक परिसूचकहरुमा सकारात्मक प्रभाव पार्न र वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गराउन सघाउ पुग्ने मौदि्रक नीति नेपाल राष्ट्र बैङ्कले तय गर्ने बजेटमा उल्लेख छ ।
सकेसम्म सबै क्षेत्रलाई छुने प्रयास गरिएको बजेटमा जनतालाई प्रत्यक्ष  राहत दिन सार्वजनिक सेवा प्रवाह र आपूर्ति प्रणालीमा सुधार ल्याउनुका साथै सामाजिक न्याय र समावेशी विकासको माध्यमबाट भूमिमा गरीब तथा विपन्न वर्गको स्वामित्व एवं पहुँच अभिवृद्धि गर्ने उल्लेख छ । त्यसका लागि सरकारी सहकारी र निजी क्षेत्रको सहभागितामा देशको अर्थतन्त्र साचालन गर्ने तथा भूमिलगायत उत्पादनका स्रोत र साधनमा गरीब तथा विपन्न वर्गको स्वामित्व एवं पहुँच बढाउन प्रयास गर्ने बजेटमा उल्लेख छ ।

क्षेत्रीय तथा जनसाङ्ख्यिक सन्तुलन कायम गर्दै मुलुकको भावी संघीय ढाँचालाई सघाउ पुग्ने गरी भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै ठूला भौतिक पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारीको अवधारणा अवलम्वन गरिने बजेटको उद्देश्य छ । जलविद्युतलगायत भौतिक पूर्वाधारका ठूला परियोजनाका लागि विदेशी पूँजी भित्र्याउन आवश्यक कानूनी ब्यवस्था गर्ने पनि बजेटमा उल्लेख छ ।

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

Monetary Policy For FY 2012/13

 Monetary Policy For FY 2012/13, a bit Better than Fiscal Policy.............. Nepal Rastra Bank (NRB) unveiled its Monetary Policy for the fiscal year 2012/13 that focuses on controlling inflation, stimulating credit to productive areas, monitoring the trend of interest rate, increasing outreach of financial services and ensuring financial stability. While continuing many successful policy instruments of the past years, on Wednesday the Central Bank also introduced new measures for attaining the broad policy objective of facilitating economic growth and financial stability. “The major challenges we face are controlling inflation, credit to productive sectors, expanding financial outreach to the unbanked area of the country and financial stability,” said Yuba Raj Khatiwada, Governor NRB. “The overall goal is to create an enabling environment to facilitate economic growth of 5.5 percent,” said Khatiwada.   The policy for 2012/13 aims at primarily enhancing the stability...