Skip to main content

२०६८ सालमा नेपाली शेयर बजार कता जाला ?

होमनाथ गैरे
विसं २०६७ ले नेपाली शेयर बजारका लगानीकर्ताहरुलाई निराश बनाएर गएपछि उनीहरुले नयाँ वर्ष २०६८ का सम्भावना खोतल्न थालेका छन् । २०६७ मा अधिकांश सूचीकृत कम्पनीहरुको मूल्य ओरालो लाग्दा नेप्से परिसूचक दुईतिहाइभन्दा धेरैले घट्यो । फलस्वरुप पूँजीबजारबाट लगानीकर्ताहरुले अर्बौं रुपैयाँ गुमाए । अब नयाँ वर्षमा केही सकारात्मक समाचारहरु आएर शेयर बजारमा वृद्धि होला र अघिल्ला वर्षहरुमा गुमेको लगानी फिर्ता होला भन्ने सबैको आशा छ । साथै चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि प्रकाशित हुने बेला भएको छ । त्यसमा सूचीकृत कम्पनीहरुको नाफा बढ्ने अनुमानले शेयरमूल्यमा केही सुधार हुने सङ्केत पनि देखिएको छ । यसबाट वर्ष २०६८ बाट लगानीकर्ताहरुले साँच्चै केही अपेक्षा गरेको बुभुन सकिन्छ ।
तर २०६७ मा शेयर बजार घट्नुको कारण मानिएका विषयमा अहिले पनि खासै सुधार हुन सकेको छैन । सबैभन्दा प्रमुख कारक मानिएको राजनीतिक अन्योल झन् जटिल बन्दै गएको छ । बैङ्किङ प्रणालीमा विद्यमान तरलता सङ्कट सुधि्रन सकेको छैन । गतवर्ष बजारमा शेयरको मागको तुलनामा आपूर्ति अत्यधिक भएकाले मूल्य कम भएको मानिएको थियो । यस  विश्लेषणलाई आधार मान्ने हो भने यस वर्ष पनि बजारमा शेयरको आपूर्ति अझै बढ्ने सम्भावना छ । नेपाल राष्ट्र बैङ्कले नयाँ बैङ्क तथा वित्तीय संस्थाहरु खोल्न कडाइ गरे पनि पहिले नै स्थापना भएका संस्थाहरु अर्बौं रुपैयाँका शेयर जारी गर्ने तयारीमा छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार अहिले विभिन्न कम्पनीले १५ लाख कित्ताभन्दा धेरै शेयर जारी गर्ने अनुमति लिइसकेका छन् । त्यसैगरी १ अर्ब १८ करोडभन्दा धेरै कित्ता शेयर प्राथमिक निष्कासन आईपीओ दोस्रो सार्वजनिक निष्कासन एफपीओ तथा हकप्रद निष्कासनमार्फत जारी गर्न तीन दर्जनजति कम्पनी बोर्डको अनुमति पर्खिरहेका छन् । साथै रु। ३० करोडका संस्थागत ऋणपत्र जारी गर्ने प्रस्ताव पनि बोर्डको अनुमतिको पर्खाइमा छ ।
यसरी हेर्दा बजारलाई २०६७ मा बियरिश बन्न बाध्य पारेका प्रमुख कारकहरुमा सुधार भइहाल्ने कुनै बलियो आधार अहिलेसम्म देखिएको छैन । साथै सरकारले पनि देशको आर्थिक आधार बलियो बनाउने खालका ठोस नीति तथा कार्यक्रम बनाउनतिर ध्यान दिन सकेको छैन । पहिला नै बनाइएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गरेर अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्न पनि सकेको छैन । त्यसको सट्टा छिटो बजेट ल्याएर सरकारको ढुकुटीमा भएको रकम आफूखुशी बाँडेर सिध्याउने ध्याउन्नमा सरकार लागेको देखिन्छ । यी सबै कुराहरुको विश्लेषण गर्दा थला परेको नेपालको शेयर बजार तत्कालै उकालो  लागि हाल्ने आधार फेला पार्न निकै कठिन छ ।
कुनै पनि लगानीको मूल उद्देश्य प्रतिफल हो । विवेकशील लगानीकर्ताले जहिले पनि तुलनात्मक रुपमा बढी प्रतिफल आउने सम्पत्तिमा लगानी गर्छ । यसआधारमा अहिले नेपाली शेयर बजारको प्रतिफलभन्दा बैङ्क निक्षेपको ब्याजदर बढी छ । निक्षेपको ब्याजदर बढी भएपछि स्वभावैले कर्जा पनि महँगो छ । फलस्वरुप मुद्राबजारबाट ऋण लिएर पूँजीबजारमा लगानी थपिने सम्भावना पनि न्यून देखिएको छ । साथै शेयर बजारको वृद्धिमा प्रत्यक्ष प्रभाव पार्ने लगानीकर्ताको मनोबल पनि अहिले निकै खस्केको देखिन्छ । त्यसमा तत्कालै नाटकीय रुपमा परिवर्तन हुने अवस्था सृजना भइसकेको छैन । फलस्वरुप नेपाली शेयर बजारमा उच्च वृद्धिको आशा गर्ने स्थान निकै कम देखिएको छ ।
यति हुँदाहुँदै पनि शेयर बजारको पूर्वाधार विकास गर्ने र संस्थागत लगानीलाई सहज बनाउने प्रयास भएकाले शेयर बजार अहिलेको भन्दा अझै तल जाने सम्भावना भने छैन । तसर्थ लगानीकर्ताहरु निराश भइहाल्नु पर्ने अवस्था देखिँदैन । परम्परागत रुपमा चलिरहेको बजारलाई आधुनिकीकरण गर्ने र स्वचालित बनाउने प्रयास भएका छन् । त्यसैका लागि केन्द्रीय निक्षेप प्रणाली स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि सफ्टवेयर निर्माण भइसकेको छ भने यो प्रणाली कार्यान्वयनका लागि छुट्टै कम्पनी पनि स्थापना भइसकेको छ । त्यसैगरी वाणिज्य बैङ्कहरुलाई सहायक कम्पनीमार्फत सामूहिक लगानीकोष म्युचुअल फण्ड साचालन गर्न पाउने गरी नियमावली तयार भएको छ । यसैका आधारमा केही बैङ्कहरु फण्ड साचालन गर्न इच्छुक पनि देखिएका छन् । म्युचुअल फण्ड स्थापना भएमा बजारमा बढेको शेयरको आपूर्ति धान्नेगरी थप माग सृजना हुन सक्छ र विस्तारै मूल्य बढ्न सहयोग पुग्छ । साथै नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने कर्जालाई केही खुकुलो बनाएको छ । त्यसले पनि बजारमा शेयरको माग बढ्न सहयोग गर्नेछ वा आपूर्ति थप बढ्न दिनेछैन । फलस्वरुप बजारमा शेयरको माग र आपूर्तिबीचको असन्तुलन कम हुने र मूल्य उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।
प्राविधिक विश्लेषणका आधारमा शेयर बजार अहिलेको अवस्थाबाट बढ्ने प्रशस्त आधार छन् । पहिलो त नेप्से परिसूचक अत्यधिक विक्री ओभरसोल्ड जोन को न्यूनतम तहमा पुगेर फर्किने सङ्केत देखिएको छ । चक्रीय सिद्धान्तका आधारमा पनि नेप्सेले बियरिश चालका सबै चक्र पूरा गरेको छ । त्यसकारण यसको अबको गति भनेको बुलिश चाल नै हो । कालो बादलमा चाँदीको घेरा भनेझैं देशको राजनीतिक अवस्था पनि सधैं अहिलेकै जस्तो अस्थिर नरहन सक्छ । अवश्य पनि केही सुधार हुन सक्छ । त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र आर्थिक गतिविधिसहित शेयर बजारमा पनि सुधार हुने अपेक्षा गर्ने ठाउँ बाँकी नै छ ।

समग्रमा नयाँ वर्ष २०६८ नेपाली शेयर बजारका लागि केही हदसम्म भए पनि सन्तोषप्रद हुने अपेक्षा गर्न सकिन्छ । त्यसकारण लगानीकर्ताहरुले २०६७ का तीतामीठा अनुभवलाई बिसे्रर बजारमा चल्ने होहल्लाका पछि नलागी दीर्घकालीन लगानीको योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । साथै सरकारलगायत पूँजीबजार साचालक र नियामक निकायहरु पनि बजारको दीर्घकालीन विकासमा सहयोग पुर् याउने खालका नीतिनियम तथा कार्ययोजना बनाएर तिनको प्रभावकारी कार्यान्वयनमा लाग्नुको विकल्प छैन । ( आर्थिक अभियानको साप्ताहिक बिसेशांक लगानी र पुजी बजार २०६८-०१-0४ मा प्रकासित )

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...