Skip to main content

सिद्धान्तमा आधारित खेल: शेयर कारोबार

होमनाथ गैरे
दीर्घकालीन लगानी विवाह गरेजस्तै हो मध्यमकालीन लगानी सामान्य सम्बन्धजस्तै हो भने दैनिक कारोबार एक दिने सम्बन्धजस्तै जोखिमपूर्ण कार्य हो ।
कुनै पनि शेयर बजारमा लगानी गर्नु एक रमाइलो विषय खेल हो जहाँ हरेक मान्छेका आआफ्नै नियम हुन सक्छन् । तर यसका केही स्थापित सिद्धान्तहरु पनि छन् । सफल शेयर लगानीकर्ता बन्न यस्ता सिद्धान्तहरुको अवलम्वन गर्नु अनिवार्यजस्तै मानिन्छ । त्यसकारण प्रत्येक नयाँ सहभागी खेलाडी यस खेलमा प्रवेश गर्नु र कारोबार शुरु गर्नुअघि आफ्नो रणनीति तथा योजनाका विषयमा स्पष्ट हुनुपर्छ । शेयर बजारसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुनुभन्दा पहिला यो कस्तो प्रकारको कारोबार हो  यसमा कसरी कारोबार हुन्छ  के किनबेच हुन्छ  मेरा लागि उपयुक्त छ वा छैन  जस्ता आधारभूत प्रश्न आफैलाई सोध्नु जरुरी हुन्छ ।
त्यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गर्नुपर्छ । सजिलै जवाफ प्राप्त नभएमा यससँग सम्बन्धित सामग्रीहरुको खोजी गरेर अध्ययन गर्नु जरुरी हुन्छ । किनभने शेयर बजार भन्नमा र देख्नमा जति सहज र सामान्य लाग्छ त्यससँग खेल्न निकै कठिन हुन्छ । कस्ता कम्पनीको शेयर खरीद गर्ने कस्तो अवस्थामा खरीद गर्ने कहिलेसम्म प्रतीक्षा गर्ने कहिले विक्री गर्ने वा नोक्सान भएमा के गर्ने भन्ने विषय यस बजारमा कारोबार गर्नेले सबैभन्दा धेरै सामना गर्नुपर्ने अप्ठुरा हुन् । यस्ता अप्ठुराको समाधानका लागि सबैभन्दा पहिला लगानीकर्ता वा खेलाडीले आफ्नो मूल्याङ्कन गर्नुपर्छ । यहाँ आफ्नो मूल्याङ्कनको अर्थ आफूले लगानी गर्न सक्ने पूँजी लगानी गर्ने तरीका रणनीति तथा लगानी गर्ने समयावधिका विषयमा स्पष्ट हुनु भन्ने हुन्छ । शेयर बजारमा लगानी गरेर प्रतिफल प्राप्त गर्न यी तीनओटै तत्वको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर यहाँ समयावधिका आधारमा लगानीको वर्गीकरण गर्ने र त्यस्तो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त गर्न पालना गर्नुपर्ने नियम वा सिद्धान्तका विषयमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
समयावधिका आधारमा शेयर बजारमा गरिने लगानी कारोबारलाई साधारणतया दीर्घकालीन अल्पकालीन र दैनिक ईण्ट्रा-डे गरी तीन तरिकाले विभाजन गरिएको हुन्छ ।

दीर्घकालीन कारोबार : लामो समयसम्म प्रतीक्षा गर्ने गरी शेयर बजारमा गरिएको लगानी वा कारोबारलाई लगानी इन्भेष्टमेण्ट वा दीर्घकालीन कारोबार भनिन्छ । यसको पहिलो उद्देश्य भनेको लगानी गरिएको पूँजीको संरक्षण गर्दै अपेक्षित प्रतिफल प्राप्त गर्ने प्रयास गर्नु हो । यसप्रकारको लगानी वा कारोबार मुख्य गरी कम्पनी उद्योग तथा समग्र अर्थतन्त्रका आधारभूत आर्थिक अवस्थाको विश्लेषणमा आधारित हुन्छ । यस्ता आधारभूत तत्वमा परिवर्तन भएमा वा  आफ्नो अनुमान नमिल्ने देखिएमा मात्र लक्षित समयावधिभन्दा पहिला वा चाहेको मूल्य नपुग्दै कारोबार बन्द गर्नुपर्छ । तर आधारभूत आर्थिक तथा वित्तीय तत्वका आधारमा कारोबार वा लगानी गर्दा स्टप लसका तहहरुसँग खासै महत्व दिनुहुँदैन । किनभने दीर्घकालमा शेयरमूल्य प्राविधिकभन्दा आधारभूतमा परिसूचकका आधारमा चल्ने गर्छ । साथै दीर्घकालीन लगानी गर्नेले मूल्यमा हुने दैनिक उतारचढावलाई लिएर आफ्नो रक्तचाप बढ्न दिनुहुँदैन । दीर्घकालमा शेयरमूल्यमा हुने घटबढलाई स्वाभाविक प्रकि्रया मान्नुपर्छ ।
अल्पकालीन पोजिशनल कारोबारः यदि तपाईंको कारोबार लगानी एक हप्तादेखि १५ दिनसम्मका लागि हो भने त्यसलाई अल्पकालीन वा पोजिशनल कारोबार भनिन्छ । यसप्रकारको कारोबारमा आधारभूतभन्दा प्राविधिक विश्लेषणको आधार लिनु राम्रो मानिन्छ । शेयरको ऐतिहासिक मूल्य तथा परिमाणलाई आधार मानेर भविष्यको मूल्य प्रक्षेपण गर्ने विधिलाई प्राविधिक विश्लेषण भनिन्छ । यसमा केही जटिल गणितीय तथा तथ्याङ्कशास्त्रीय विधिको प्रयोग गरिएको हुन्छ । कम्पनी तथा उद्योगको आधारभूत अवस्थालाई महत्व नदिएर केवल प्राविधिक विश्लेषणका औजार वा रेखाचित्रहरुको अवस्थाका आधारमा कारोबार गरिने हुनाले यसलाई पोजिशनल कारोबार भनिएको हो । यस्तो कारोबारमा शेयरमूल्यको रेखाचित्र वा विभिन्न परिसूचकको गणितीय मानले देखाएको तहमा अनिवार्य रुपमा स्टप लस प्रयोग गर्नुपर्छ । अन्यथा यस्ता कारोबारबाट ठूलो नोक्सान पनि हुन सक्छ । त्यसैगरी कुनै बलियो आधारभूत आधारविना पोजिशनल कारोबारलाई दीर्घकालीन कारोबारमा परिणत गर्नुहुन्न । बरु पूर्वनिर्धारित स्टप लस लाई छुन दिनुपर्छ । यसको अर्थ कारोबार आफ्नो प्रतिकूल भएमा कतिसम्म नोक्सान सहने भन्ने पहिला नै निर्धारण गरिएको हुनुपर्छ र सोहीअनुसार निर्णय गर्नुपर्छ ।

दैनिक कारोबार : खास गरी एक दिनका लागि मात्र गरिने कारोबारलाई दैनिक कारोबार भनिन्छ । यस्तो कारोबारमा स्टप लसको नियमलाई कडाइका साथ लागू गर्नुपर्छ । यस्तो कारोबार गर्नेले आधारभूत तत्वहरुको पछि लाग्नुहुँदैन । किनभने आधारभूत विश्लेषणअनुसार खरीद गर्ने अवस्थामा रहेको शेयरमूल्य दैनिक कारोबारका लागि विक्री गर्ने अवस्था भएको पनि हुन सक्छ भने आधारभूत विश्लेषणले विक्री सङ्केत देखाएको शेयरमूल्य दैनिक कारोबामा खरीद गर्नुपर्ने पनि हुन सक्छ । त्यसैले एक दिनका लागि खरीदविक्री गर्ने शेयरका आधारभूत तत्थ्यलाई ख्याल गर्नुहुँदैन । केवल प्राविधिक विश्लेषणका आधारमा शेयर खरीदविक्रीको निर्णय गर्नुपर्छ । यो नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्छ ।
अन्तरराष्ट्रिय बजारमा प्राविधिक विश्लेषणका आधारमा गरिएका दैनिक कारोबारको सफलतादर ६० देखि ७० प्रतिशतसम्म देखिएको छ । त्यसका लागि कारोबार शुरु गर्नुभन्दा पहिला आफ्ना लागि उपयुक्त प्रतिफल र जोखिमको अनुपात निर्धारण गर्नुपर्छ । सामान्यतया २ बराबर १ (२:१) को अनुपातलाई उपयुक्त मानिन्छ । त्यसको अर्थ रु. २ नाफा कमाउने सम्भावना भएको शेयरमा लगानी गर्दा रु. १ जोखिम लिनु उपयुक्त हुन्छ भन्ने हो । यस्तो अवस्थामा आधा कारोबार मात्र सफल भए पनि त्यसबाट राम्रो प्रतिफल प्राप्त हुन सक्छ । अल्पकालीन तथा दैनिक कारोबारमा स्टप लस नराखीकन कारोबार गर्नु भनेको ब्रेक नभएको सवारी चलाउनुजस्तै हो । यो तथ्यलाई कहिल्यै पनि बिस्रनुहुँदैन । 
कारोबार वर्गीकरण तथा लगानी योजना : धेरैजसो लगानीकर्ताहरु कस्तो खाले कारोबार गर्ने भन्ने निर्णय नगरीकन वा गतिलो योजना नबनाईकन शेयर कारोबार गर्ने गर्दछन् । यसले गर्दा उनीहरुलाई कति बेला कारोबार बन्द गरेर बजारबाट बाहिरिने भन्ने विषयमा निर्णय गर्न निकै अप्ठुरो पर्ने गर्छ । यो पत्ता लगाउनु आवश्यक हुन्छ । फलस्वरुप कतिपय लगानीकर्ताले राम्रो प्रतिफल दिन सक्ने कम्पनीको शेयर पनि थोरै नाफा लिएर छिटो बेचिरहेका हुन्छन् । कम्पनीको आधारभूत वित्तीय अवस्थामा खासै नराम्रो परिवर्तन नभएको अवस्थामा पनि यसरी आत्तिएर शेयर विक्री गर्नुमा लगानीकर्ताको उत्तेजनाले काम गरिरहेको हुन्छ । त्यसैगरी कहिलेकाहीँ कम्पनीका आधारभूत तथ्यमा व्यापक कमजोरी आएको अवस्थामा पनि शेयर विक्री गर्न सकिरहेका हुँदैनन् । यस्ता दुवै अवस्थामा लगानीकर्ताले नाफा कमाउने अवसर गुमाइरहेको हुन्छ भने नोक्सान बढाउँदै लगेको हुन्छ । त्यसैले कारोबार तथा लगानीको सही वर्गीकरण गरेर योजना बनाएर कारोबार गरेमा यस्तो जोखिमलाई न्यूनीकरण गर्न र आफ्नो लगानी दक्षतामा वृद्धि गर्न सकिन्छ । 
यसरी कारोबार वर्गीकरण गरेर वा योजना बनाएर लगानी गरेकाहरुले पनि कहिलेकाहीँ त्यो योजना परिवर्तन गरेर गम्भीर गल्तीसमेत गरेका हुन्छन् । यदि कसैको दैनिक कारोबारमा स्टप लस छोयो भने उसले पोजिशनल कारोबार गर्ने निर्णय गर्न सक्छ । त्यसैगरी पोजिशनल कारोबार पनि असफल भएमा ऊ दीर्घकालीन कारोबार वा लगानीमा जान सक्छ । त्यसैले दीर्घकालीन लगानी विवाह गरेजस्तै हो मध्यमकालीन लगानी सामान्य सम्बन्धजस्तै हो भने दैनिक कारोबार एक दिने सम्बन्धजस्तै जोखिमपूर्ण कार्य हो । यसप्रकारका गम्भीर निर्णय गर्दा लगानीकर्ताले स्थापित नियम वा सिद्धान्तहरुलाई पूर्णरुपमा पालना गरेमा मात्र जीवनरुपी लगानी सफल र सार्थक हुन सक्छ । 

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...